
काठमाडौँ – नेपाल हस्तकला महासंघले काठमाडौँ उपत्यकाका ७० वर्षमाथिका १० जना कालिगढ एवं कलाकारहरुलाई सम्मान गरेको छ।
राजधानीमा जारी १८ औँ हस्तकला व्यापार मेलाको अवसरमा महासंघले ललितपुरका ४ र काठमाडौँ तथा भक्तपुरका ३–३ जना गरी १० जना ज्येष्ठ हस्तकलाका कालिगढ एवं कलाकारहरुलाई सम्मान गरेको हो।
यसरी सम्मानित हुने ललितपुरका ज्येष्ठ कालिगढहरुमा चाँदी तथा वस्तु जडाउतर्फ बुद्धरत्न शाक्य (८५ वर्ष), काष्ठकलातर्फ सिंहबहादुर बाराही (८२ वर्ष), थ्याज्या माज्या कताँतर्फ बुद्धरत्न शाक्य (७८ वर्ष) र धातुकलातर्फ सानुमाया शाक्य (७५ वर्ष) रहेका छन्।
काठमाडौँका ज्येष्ठ कालिगढ एवं कलाकारहरुमा चित्रकलातर्फ हरिप्रसाद शर्मा (८४ वर्ष), जडाउतर्फ तीर्थरत्न शाक्य (७६ वर्ष) र मूर्तिकलातर्फ रवीन्द्र ज्यापू (७१ वर्ष) सम्मानित भएका छन्।
भक्तपुरका ज्येष्ठ कालिगढ तथा कलाकारहरुमा सेरामिकतर्फ कृष्ण प्रजापति (७० वर्ष), मौलिक मुकुन्डो निर्माणतर्फ पूर्ण चित्रकार (७५ वर्ष) र परम्परागत चित्र (लोककला) तर्फ कृष्णराम चित्रकार (८० वर्ष) लाई सम्मान गरिएको छ।
महासंघको तर्फबाट काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ कालिगढ एवं कलाकारहरुलाई ताम्रपत्रले सम्मान गरेका छन्। त्यस्तै महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले सम्माानित सबैलाई दोसल्ला ओढाएका थिए। सम्मानित व्यक्तित्वहरुलाई नेवारी संस्कारअनुसार दही, अन्डा र माछासहितको सगुन दिइएको थियो।
महासंघका अध्यक्ष शाक्यले नेपाली कला–संस्कृति तथा मौलिक सीप र कलाको जगेर्ना गर्न आफ्नो जीवन अर्पेका ज्येष्ठ कलाकार एवं कालिगढहरुलाई सरकारले चिन्न नसकेको गुनासो गरे। सरकारले उनीहरुको योगदानको कदर नगरेकै कारण महासंघले उनीहरुको सीप र कौशलको मूल्यांकन गर्दै सम्मान गरेको उनले जानकारी दिए।