
भक्तपुर – भक्तपुरमा शारीरिक सुगठनको जिल्लाव्यापी पावर लिफ्टिङ प्रतियोगिता हुने भएको छ। भादगाउँ स्पोर्टस् एण्ड लेजर (बीएसएल) को आयोजनामा हुने उक्त प्रतियोगिता आउँदो पुरुष २ र ३ गते हुने भएको हो। प्रतियोगितामा महिला र पुरुषतर्फ बेन्चप्रेस, स्क्वाट र डेडलिफ्टमा स्पर्धा हुनेछ।
भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता पाँचवटा तौल समूहमा सञ्चालन हुने संयोजक सुरेन्द्र भेलेले जानकारी दिए। उनका अनुसार पुरुषतर्फ ६५ केजी, ६५ केजीमाथि र पुरुष मास्टर समूहमा ४५ वर्षमाथिको उमेर समूहमा स्पर्धा हुनेछ।
महिलातर्फ भने ५५ केजी र ५५ केजीमाथि गरी दुई तौल समूहमा स्पर्धा गराइने उनले बताए।
प्रतियोगिताका विजेताले ६५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संयोजक भेलेले जानकारी दिए। उनका अनुसार समूहगत स्पर्धाका विजेताले १५ हजार र ओभरहलका विजेताले ५० हजार गरी प्रतियोगिताका विजेताले ६५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्।
तौल समूहको इभेन्टका विजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउँदा दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
प्रत्येक तौल समूहका उत्कृष्ट तीन खेलाडी ग्राण्ड फिनालेमा पुग्ने भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा जिल्लामा ५० जना व्यवसायिक शारीरिक सुगठनका खेलाडीहरुको सहभागिता रहनेछन्।
अध्यक्ष मानन्धरले भक्तपुरमा भएको पावर लिफ्टिङ प्रतियोगिताको यो तेस्रो संस्करण हो। यसअघि संघको आयोजनामै पहिलो र दोस्रो पावर लिफ्टिङ भएको थियो। अघिल्लो दोस्रो संस्करणको पुरुषतर्फ राजेश सुवाल र महिलातर्फ पार्वती खड्काले उपाधि जितेका थिए।
आयोजकका अनुसार प्रतियोगिताका हरेक इभेन्ट तीन राउन्डमा खेलाइनेछ। प्रतियोगिता भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलस्थित भादगाउँ स्पोर्टस् एण्ड लेजरमा हुनेछ।