२५ हजार रुपैयाँमा सुरु गरेको सेलरोटी व्यापारमा सन्तुष्ट छिन् बबी थापा

+
-

काठमाडौँ– सन् २०१९ मा उनको प्रोजेक्ट सकियो। प्रोजेक्ट सकिएसँगै जागिर पनि। सधैँ जागिर गरेकी बबी थापालाई घरमा यत्तिकै बस्न दिक्दार लाग्थ्यो। त्यसैले उनी अर्को जागिर खोज्ने योजना बनाइरहेकी थिइन्।

तर उनको योजनाले मूर्तरुप लिन सकेन। योजनाको बीच कोरोना भाइरस आयो। कोरोनाकै कारणले पनि कयौँले जागिर गुमाउन थाले। ‘खासमा म जागिरकै खोजीमा थिएँ। तर विस्तारै प्यान्डामिक सुरु भयो’, थापाले भनिन्, ‘त्यसपछि त भएकै मान्छेको जागिर नहुने बेलामा हाम्रो त कुनै होप नै थिएन।’

बबीले जागिरको आशा मारिसकेकी थिइन्। किनभने कोरोना भाइरसको महामारी दिनहुँ बढ्दो थियो।

अब के गर्ने त ? उनी सोच्न थालिन्।

‘धेरै समय बिना काम बिताउँदा छटपटी हुने रहेछ। फुर्सदको लाइफ बिताउन एकदमै गाह्रो हुँदो रहेछ’, बबीले भनिन्, ‘अब के गर्ने भनेर इन्टरनेटमा हेरिरहेको थिएँ। मैले फुडमारियो देखेँ। त्यहाँ सेफहरु हुनुन्हुन्छ भने तपाईंहरुको प्रोडक्ट हामीले लग्छौँ भनेर थियो।’

बबीले फुडमारियोका बारेमा बुझिन्। फुडमारियोले उनलाई आफ्नो ब्राण्ड अन्तर्गत राखेर उनको प्रोडक्टलाई बिक्री गर्ने जानकारी दियो। ‘फुडमारियोलाई सोध्दा तपाईंलाई जे पकाउन आउँछ त्यो हामीलाई देखाउनुस् भने। मैले उहाँहरुलाई आफूलाई आउने सेलरोटी, पनिर, चिकेन, अचार, चना, खाना टेस्ट गराएँ। उहाँहरुले खानासँगै सफासुगर पनि हेर्ने भन्नुभयो। सबै क्वालिटी, सफासुगर सबै चेक गरेर ओके भन्नुभयो’, उनले खुसी हुँदै सुनाइन्।

सबै ‘ओके’ भएपछि बबीले फुडमारियोमा आफ्ना परिकार पठाउन सुरु गरिन्। फुडमारियोमा काम गर्न निकै सहज भएको बबी बताउँछिन्। किनभने त्यहाँ उनले खाना मात्रै पठाउने हो, बाँकी सबै काम कम्पनीले नै गर्थ्यो।

‘सबैभन्दा सजिलो के रैछ भने हामीले ग्राहक खोज्न, डेलिभरी गर्न नपर्ने, मैले त पकाउने मात्र हो’, उनले भनिन्, ‘ग्राहकसम्म उहाँहरुले नै पुर्‍याउनुहुन्थ्यो।’

उनले कम्पनीमा करिब डेढ वर्ष खाना पकाइन्। यो अवधिसम्म कोरोना उच्च बिन्दुमा पुगिसकेको थियो।

‘अवस्था नाजुक भएर आयो। सबै ठाँउमा अवस्था गम्भीर थियो’, बबीले भनिन्, ‘मेरो मामु र ड्याडी अमेरिकामा होइसिन्थ्यो। त्यहाँ पनि अवस्था जटिल भएकाले नेपाल नै बोलाएँ। बाहिरको मान्छेसँग कन्ट्याक गर्दा झन् जोखिम हुने हुन्छ भनेर मैले फुडमारियो छोडेँ,’ यसैबीच उनलाई कोरोना पनि भयो।

डेढ वर्षको व्यवसायलाई उनले गत साउनदेखि पुनः सुरु गरिन्– ‘मालाज् किचेन।’ ‘मालाज् किचेन’ उनको आफ्नो ब्राण्ड हो। आफ्नो ब्राण्ड अन्तर्गत नै उनले आफ्ना परिकारहरुलाई ग्राहकसम्म पुर्‍याइरहेकी छन्।

‘मालाज् किचेनमा सेलरोटी, अचार, चिकेन, चना, पनिर, राजमा पुलाउ पाक्छ’, उत्साहित भन्दै उनले भनिन्, ‘कस्टमरको अर्डर अनुसार डेलिभरी गर्छु। कति आफै आउनुहुन्छ घरमै लिन। डेलिभरी पनि हुन्छ। तर डेलिभरी अरुसँग सहकार्य गरेर गर्नु परेकाले लेट पनि हुन्छ। त्यस्तो अवस्थामा म ग्राहकहरुलाई अगाडि जानकारी गराउँछु। डेलिभरी भाइसँग पढाउँदा ढिलो हुनसक्छ। ढिलो हुँदा फरक पर्दैन भने ठीक छ, होइन भने हजुरले आफै लान सक्नुहुन्छ भन्छु।’

ग्राहकहरुको पनि राम्रो प्रतिक्रिया आउने उनी बताउँछिन्। उनले सबै परिकार आफ्नै घरमा पकाउँछिन्। ग्राहकहरुको अर्डर आएपछि मात्र बबीले मेनुमा भएका खानेकुरा तयार पार्ने हो।

‘मैले घरमै सबै खानेकुरा पकाउने हो। जति कस्टमरले भन्नुहुन्छ त्यति नै पकाउने हो’, बबीले भनिन्, ‘मैले पकाइसकेपछि फेरि मलाई थप चाहियो भने पनि म बनाउन सक्दिनँ। मैले अर्डर अनुसार सामान रेडी गरिसकेको हुन्छु। त्यसैले थपघट गर्न सक्दिनँ।’

आफूले पकाउने पकवान स्वादिष्ट हुनेमा बबी विश्वस्त छिन् जसका कारण ग्राहकहरुले पनि निकै स्वादिष्ट मानेर उनलाई खानाको अर्डरसँगै प्रशंसासमेत गर्छन्।

‘केही समय अगाडि प्रसुति गृह अस्पतालमा नर्सहरुको ग्यादरिङ भएको रहेछ। उहाँहरुले मेरोबाट खाना अर्डर गर्नुभयो। अलमोस्ट उहाँहरुले मेरो सबै प्रडक्ट मगाउनु भयो’, ग्राहकको प्रतिक्रिया सुनाउँदै भनिन्, ‘उहाँले मलाई बेलुका साढे ९ बजेतिर फोन गर्नुभयो। यति राति फोन आयो के भयो होला भन्ने डर पनि लाग्यो। हजुरको खाना जतिले खाए सबैलाई मन पर्‍यो भन्नुभयो। हामीलाई त घरको स्वाद लाग्यो भन्नुभयो। निकै खुसी लाग्यो। अब हामी तपाईंलाई नै अर्डर दिन्छौँ। हाम्रो यस्तो ग्यादरिङ भइराख्छ भन्नुभयो। मलाई निकै खुसी लाग्यो।’

उनी ग्राहकहरुलाई आफ्ना खानाका बारेमा प्रतिक्रिया लिन आफै पनि सम्पर्क गर्छिन्। आफूलाई ग्राहकहरुको सबै प्रकारका प्रतिक्रियाले थप काम गर्न उर्जा मिल्ने उनले बताइन्।

सबैबाट प्रशंसा पाउने बबीले यसरी आफ्नो व्यवसाय गर्छु भनेर कहिल्यै सोचेकी थिइनन्। तर पनि उनले परिवारको साथ र केही गर्नुपर्छ भन्ने हौसलाले आफूसँग भएको सीपलाई व्यवसायिकरण गरिन्।

उनले भनिन्, ‘घरमा पकाएको कुरालाई नै व्यवसायिक रुपमा अगाडि बढाउने प्रयास गरेँ। मेरो परिवारमा कसैले बिजनेश गर्नुभएको छैन। सबै जागिरे। यतिकै बस्नुभन्दा काम गर्नुपर्छ भनेर सुरु गरेको हो। मेरो ड्याडीले कहिले पनि यतिकै बस्न सिकाइसेन। जहिले पनि छोरा होस् या छोरी आफै कमाउनु पर्छ भन्ने उहाँहरुको मान्यता। हामीलाई पनि त्यसरी नै हुर्काउनु भयो।’

उनलाई लाग्छ–जुनसुकै काम भएपनि परिवारको साथ भयो भने पक्कै सफल भइन्छ र अगाडि बढ्ने बाटो पनि सहज हुन्छ। उनलाई आमाबुबाको मात्र होइन, छोराको पनि साथ छ। उनको यो कामलाई उनका छोराले साथ दिइरहेका छन्।

‘मेरो छोरा अष्ट्रेलियामा डिजिटल मिडियामा ब्याचलर गरिरहेको छ। मैले जति पनि अनलाइन पोष्ट गर्ने खानाको फोटो भिडियो सबै छोराले नै बनाउने हो’, खुसी हुँदै उनले भनिन्, ‘छोराहरुले नै मलाई खानेकुराको फोटो, भिडियो खिच्न सिकाउने हो। खिचेको भिडियो गुगल ड्राइभमा हाल्छु। छोराले एडिड गरेर फेसबुकमा हाल्दिन्छ। फेसबुकमा हालेकै भरमा मलाई धेरैले चिन्नुभयो। विभिन्न मिडियाहरुले पनि कभर गर्नुभयो। जसले गर्दा यसपालीको दसैँ–तिहार राम्रो भयो।’

गतवर्षको तुलनामा यसपालीको दसैँ–तिहार बबीका लागि भ्याइनभ्याइ भयो। ‘यसपाली दसैँ–तिहारमा सेल रोटीको अर्डर यति धेरै आयो कि पूरा जिन्दगीमा मैले यति धेरै सेल कहिले पकाएकी थिएनँ’, उनले भनिन्, ‘कतिलाई त मैले नाइँ पनि भने। व्यापार पनि राम्रो भयो।’

चार्डपर्वपछि भने उनलाई कम अर्डर आउन थालेको छ। ‘धेरै अर्डर आउँथ्यो होला। तर मार्केटिङ कसरी गर्ने, कहाँ जाने केही थाहा छैन’, उनले भनिन्, ‘हामीजस्ता सानो व्यवसाय गर्ने महिलाहरुका लागि केही प्याल्टफर्म भएको भए राम्रो हुन्थ्यो। व्यवसाय पनि राम्रो हुन्थ्यो।’

व्यवसाय सुरु गरेको करिब ३ वर्षमा आफूलाई अझै कसरी व्यवसाय गर्ने भन्नेबारे जानकारी नभएको उनी बताउँछिन्।

‘यो ३ वर्षमा अझै म जहाँको त्यहीँ छु। आफूले उत्पादन गरेको वस्तुलाई बजारसम्म कसरी पुर्‍याउने भन्ने केही आइडिया नै छैन। त्यस्तो ठाउँ पनि मैले पाइनँ। जति ठाँउमा गएँ निराशा मात्र भेटेँ। म कति धेरै ठाँउ गएँ– मेरो प्रडक्ट राख्नुस् भनेर। उहाँले हुन्छ हेरौँला, गरौँला मात्र भन्नुभयो’, उनले भनिन्।

उनले आफ्ना उत्पादनहरु कृषि बजारमा पनि बेचिन्। कृषि बजारका बारेमा उनले छोरासँग घुम्न गएका बेला थाहा पाएकी थिइन्। त्यो देखेर आफू पनि कृषि बजारमा आफ्ना उत्पादन बेच्न सकिने उनलाई लाग्यो। उनी पनि कृषि बजार जान थालिन्।

‘विभिन्न ठाउँमा फार्म मार्केट देखेँ। हप्ताको एक दिन लाग्दो रहेछ। कोरोनाको बेला भएकाले मैले अचार मात्र बेचेँ। तर कोरोना बढी भएपछि बन्द भयो’, उनले सुनाइन्, ‘अचार त घरमै खाएर सकियो।’

उनका अनुसार हप्तामा एक दिन लाग्ने कृषि बजार हप्ताभरि लाग्ने भएपछि सानो लागतमा काम गर्ने महिलाहरुका लागि निकै उपयोगी हुने थियो।

यस्तै उनले व्यवसाय सुरु गर्नुअघि गर्नुपर्ने कामहरुको विवरण स्पष्ट रुपमा सम्बन्धित निकायले आफ्नो वेबसाइटमा राख्नुपर्ने बताइन्।

‘सानो लगानीमा घरमै व्यवसाय सुरु गर्ने महिलाहरुलाई सम्बन्धित निकायले बजार सम्बन्धी तालिमको व्यवस्था गरेको भए राम्रो हुन्थ्यो।  व्यवसाय सुरु गर्दा कहाँ दर्ता गर्ने? कसरी लिगल्ली बेच्ने भन्नेबारे पनि जानकारी सजिलो तरिकाले उपलब्ध गराउनु पर्‍यो’, उनले भनिन्, ‘मैले मालाज् किचेन दर्ता गर्न जाँदा पाँच लाखभन्दा बढीको मात्र दर्ता हुन्छ भन्नुभयो। हजुरले वडामा नै दर्ता गरेर काम सुरु गर्न सक्नुहुन्छ, भन्नुभयो। मैले त्यसरीनै सुरु गरेँ। तर पाँच लाखभन्दा कम लागत भएका व्यवसायीहरुले बजारसम्म कसरी पुग्ने? लिगल्ली कसरी काम गर्ने कुनै स्पष्ट जानकारी छैन।’

उनले करिब २५ हजार रुपैयाँको लागतमा व्यवसाय सुरु गरिन्। नेपालमा व्यवसाय सुरु गर्नुभन्दा दर्ता गर्नु सकस रहेको उनले गुनासो गरिन्। महिलाले व्यवसाय सुरु गर्न चाहेमा सहज वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?