
विराटनगर- प्रदेश नम्बर एक प्रदेश सभाको दोश्रो अधिवेशन जेष्ठ १७ गतेको लागि तोकिएको छ। प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले दोस्रो अधिवेशनका लागि उक्त मिति तोकेका हुन्। अधिवेशनको मुख्य उद्देश्य प्रदेशको बजेट सार्वजनिक र नीति तथा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ।
प्रदेश सरकारले असार १ गतेभित्र आर्थिक बर्ष २०७५/७६ को बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिस र नेपालको संविधानको धारा १८३, उपधारा (१) अनुसार आउँदो जेठ १७ गते बिहीवार अपरान्ह ३ बजे प्रमुख तुम्वाहाङले दोस्रो अधिवेशन डाकेकोे प्रदेश कार्यालयका प्रेस संयोजक शेखर रेग्मीले जानकारी दिए।
अधिवेशन सुरु भएको एक साता भित्रमै प्रमुखले प्रदेश सरकारको नीति तथा कार्यक्रमका बारेमा सम्वोधन गर्ने कार्यक्रम तय भएको छ।
सम्वोधन पश्चात प्रदेश सभामा छलफल चल्ने र त्यसपछि बजेट सार्वजनिक हुनेछ । सामान्यता प्रदेशमा हिउदे र बर्खे अधिवेशन हुनेछ । यसअघि पहिलो अधिवेशन गत वैशाख २५ गते सकिएको थियो ।