
सौराह – नेकपा एमालेको १० औँ महाधिवेशनअन्तर्गत चितवनको सौराहमा बन्दसत्र सुरु भएको छ।
नारायणगढमा शुक्रबार भव्य सभा गरेर उद्घाटन भएको महाधिवेशनको बन्दसत्र नयाँ नेतृत्व चयनमा केन्द्रित हुनेछ।
नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने तथा आकांक्षीहरुलाई सक्दो समेट्ने उद्देश्यले एमालेले दुई महिनाअघिको विधान महाधिवेशनको औचित्यमाथि नै गम्भीर प्रश्न उठ्ने गरी विधानका विभिन्न व्यवस्था तोडमोड गरेको छ। तर पनि बन्दसत्रमा नेतृत्व चयन प्रक्रिया सहज भने हुने देखिएको छैन।
शुक्रबार राति सौराहमा बसेको नवौँ केन्द्रीय कमिटीको अन्तिम बैठकमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय सदस्यको संख्या ३०१, पदाधिकारी १९ र पोलिटब्युरो थप्न प्रस्ताव पेश गरेका थिए।
पार्टीभित्र अनौपचारिक छलफलपछि पेश गरिएको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले पारित गरेको थियो। उक्त प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेपछि नेतृत्व चयन हुनेछ।
यसअघि विधान महाधिवेशनले १५ सदस्यीय पदाधिकारीसहित एमाले केन्द्रीय कमिटीको आकार २२५ सदस्यीय बनाएको थियो।
केन्द्रीय कमिटीले पेश गरेको नयाँ प्रस्तावअनुसार पदाधिकारीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहनेछन्।
असोजमा पारित विधानमा एक अध्यक्ष, वरिष्ठसहित पाँच उपाध्यक्ष, एकएक महासचिव र उपमहासचिव तथा सचिव सातसहित १५ सदस्यीय पदाधिकारी बनाइएको थियो। त्यस्तै हटाइएको पोलिटब्युरोलाई पुनः स्थापित गर्दै केन्द्रीय सदस्यको एकतिहाइ अर्थात ९९ जना हुने प्रस्ताव पारित गरेको छ।
अहिलेसम्मको अवस्थामा अध्यक्षमा ओलीविरुद्ध नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ। बन्दसत्र सुरु भएसँगै सर्वसम्मत नेतृत्व चयन प्रक्रिया पेचिलो बन्ने देखिएको छ।