
म्याग्दी – म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्डको निर्माण कार्यले तीव्रता पाएको छ।
सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन भदौमा काममा फर्किएका मुख्य ठेकेदारले अहिले कामलाई तीव्र बनाएका हुन्।
समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो। मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले बेनीदेखि तातोपानीसम्म सात ठाउँमा मजदुर र उपकरण परिचालन गरिएको बताए।
उपकरण र मजदुरको संख्या बढाएर फरक–फरक ठाउँमा परिचालन गरिएको उनको भनाइ छ। ठूलोखोलामा अस्थायी क्रसर स्थापना गरी बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको बताए। उनले नदीजन्य वस्तुको अभाव भएको बताउँदै बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको जानकारी दिए।
बाह्र किमि ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्र गर्ने ठेक्का लिएर अलपत्र पारेकाले लामा निर्माण कम्पनीका सञ्चालक जिपछिरिङ लामाको तस्बिर सडकमा झुण्ड्याएर स्थानीयवासीले विरोध जनाएका थिए।
०७४ साल असोज ४ गते ४५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको यो सडकको ०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो। यो सडकखण्डमा हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख सन्तोष अर्यालले पछिल्लो पटक चैतसम्म ठेक्काको म्याद थपिएको बताए।
चौथो पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो। म्याग्दीको ‘लाइफ लाइन’ मानिने ०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ। बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो। बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम सुरु गरेको ठेकेदार कम्पनीका व्यवस्थापक सदाले बताए।
बेनी–तातोपानी खण्डमा कालोपत्रे र तातोपानी–सिम खण्डमा विस्तार, पर्खाल र नाली निर्माण सुरु गर्ने उनले बताए।
तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो। आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरबाङसम्म आठ किमि खण्ड सडक कालोपत्र गर्न २२ करोड ५७ लाख ९३२ मा ०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो। हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार बिरुवा–क्याराभान काममा फर्किएको छैन। प्रतिनिधि सोमनाथ गौचन सम्पर्कविहीन छन्। मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किमि सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भए पनि बजेटको स्रोत सुनिश्चित नभएका कारण सम्झौता हुन सकेको छैन।