
सौराह – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार जोगाउनका लागि तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेको बताएका छन्।
एमाले १० औँ महाधिवेशनको बन्दसत्रमा शनिबार ओलीले माओवादीसँग पार्टी एकता गर्नुको एकमात्र कारण सरकार जोगाउनु रहेको बताएका हुन् ।
उनले भने, ‘चुनावी तालमेलकै बेला गठबन्धनभित्रै सरकार बनाउन नदिने काम भयो। त्यसलाई पराजित गरेर अघि बढ्नका लागि पार्टी एकता गरिएको थियो। पार्टी एकता नगरेको भए सरकार जुनसुकै बेला ढल्थ्यो। त्यसलाई रोक्न एकता अनिवार्य थियो।’
उनले पार्टी विभाजन नेताहरुले नै गराएको आरोप लगाए। सरकार जोगाउनका लागि पार्टी एकता गरिएको भए पनि विभाजन गर्ने आफ्नो कुनै मनसाय नरहेको दाबी गर्दै ओलीले नेताहरुकै सहभागितामा पार्टी विभाजन गरिएको आरोप लगाए।
उनले भने, ‘पार्टी विभाजन गराइयो। नेताहरु आफै सहभागी भएर पार्टी विभाजन गरियो। हामीलाई सरकारबाट जनादेश र संविधानविपरीत हटाइयो।’
उनले अहिले देश विशेष परिस्थितिमा रहेको भन्दै आउँदो चुनावमा एमाले सकियो भन्नेहरुलाई जवाफ दिने पनि बताएका छन्। नेता ओलीले भने, ‘त्यसका लागि पार्टी एकताबद्ध हुनुपर्छ। चुनौतीहरुको सम्बोधन गर्न सक्ने गरी नेतृत्व चयन गर्न आवश्यक छ।’
पार्टी दुईपटक विभाजन गराइएको भए पनि आफूहरु र कार्यकर्ता एकताबद्ध हुन प्रतिबद्ध रहेको दाबी उनले गरेका छन्। उनले भने, ‘दुईपटक विभाजन गर्दा पनि जोगाउन दृढतापूर्वक लाग्नु भएको छ। मलाई मीठो निन्द्रा लाग्छ, तपाईंहरुलाई अगाडि देखेका बेला। देश ढुक्कसँग अघि बढ्छ भन्ने सन्तोष मिल्छ।’
सौराहमा जारी एमालेको महाधिवेशनमा ओलीलाई भावी नेतृत्व चयन गर्ने सर्वाधिकार दिइएको छ। तर नेताहरुमा भने असन्तुष्टि कायम छ।