
बागलुङ – जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ।
विद्यालयको ६२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सांसद डा सूर्य पाठक, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं बानपा वडा नं १२ का अध्यक्ष गुरुदत्त पाठक, विद्यालयका प्रधानाध्यापक बुद्धि चापागाईंले विद्यालयको उन्नयनमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै वरिष्ठ उपाध्यक्ष ढकाललाई सो सम्मान प्रदान गरेका हुन्।
अमलाचौर निवासी ढकालले उनका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब रु ६ करोड खर्चेर विद्यालय भवन निर्माणका साथै अन्य भौतिक संरचनाको विकासमा सहयोग पुर्याएका छन्। ढकालको निजी लगानीमा सुविधासम्पन्न भवन निर्माणपछि विद्यालयका पूर्वविद्यार्थीहरुको सक्रियतामा रकम सङ्कलन गरेर विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा छ।
सोही अवसरमा उक्त विद्यालयका संस्थापक ९५ वर्षीय मणिरत्न पौडेल र सञ्चालक समितिका पूर्वअध्यक्षहरु कोपिलामणि शर्मा, भविश्वर शर्मा, भोजराज शर्मा र भविदत्त पन्तलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा सांसद डा पाठकले राज्यको लगानीअनुसारको शैक्षिक वातावरण सामुदायिक विद्यालयमा हुनुपर्नेमा जोड दिँदै आफू पनि सो विद्यालयको विद्यार्थी हुन पाएकामा सदैव गौरव महसुस गर्ने गरेको बताए।
सो विद्यालयका दाता तथा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले उक्त विद्यालयको उन्नयनका लागि आफ्नो तर्फबाट आवश्यक पर्ने जस्तोसुकै सहयोग उपलब्ध गराउने वचन दिए। समयानुकूल प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिन उनले विद्यालयका सञ्चालक तथा शिक्षकहरुलाई आग्रहसमेत गरे।
वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुदत्त पाठकले आफ्ना घरदैलोमा रहेको सामुदायिक विद्यालय सुधार गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए। विद्यालयको भौतिक संरचना बलियो भएकाले अब शैक्षिक गुणस्तर सुधारको अभियान सुरु गर्ने उनले स्पष्ट पारे।
वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस्तै बलेवाको पञ्चेवाजा, भजन र नृत्य कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कक्षा १२ सम्म पठनपाठन भइरहेको उक्त विद्यालयमा ३५० विद्यार्थी रहेका छन्।