
ललितपुर – पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने भएको छ। उक्त प्रदर्शनी आगामी माघ ५ देखि ८ गतेसम्म भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरमा हुनेछ।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो।
परियोजनाका वरिष्ठ इन्जिनियर जीत चन्दले सो प्रदर्शनी बिहान १० देखि साँझ ५ बजेसम्म हुने जानकारी दिए। कृषि पूर्वाधार तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेलले नीति निर्माता अनि पेशागत समूह तथा अनुसन्धानकर्ताका साथै कृषकलगायतका सरोकारवालालाई कृषियन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने बताए।
नेपाल कृषि व्यवसायी सङ्घका सचिव जेवी घिमिरेले प्रदर्शनीमा कृषि उपकरण र प्रविधिको बृहत प्रदर्शनी गरिने बताए।
कार्यक्रममा कृषि कर्जा मेला संयोजक सुष्मा शर्मा, मुक्तिनाथ कृषि कम्पनीका सचिव रामशरण तिमिल्सिना, शलोम एग्रिकल्चर प्रालिका सञ्चालक श्रीकृष्ण अधिकारी, सङ्घका संस्थापक अध्यक्ष महेन्द्रप्रसाद कँडेल, सङ्घका निवर्तमान अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठ, सङ्घका अध्यक्ष खोजराज कटुवाललगायतले सो प्रदर्शनीबारे जानकारी गराएका थिए।
पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७० चितवन, दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७२ कोहलपुर बाँके, नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो २०१७ भृकुटिमण्डप, काठमाडौँ, तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा सम्पन्न भएको थियो।
यस वर्षको प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामग्री, बीउबिजन, आधुनिक सिंचाइलगायतकोे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने बताइएको छ।