
रसुवा – रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.३९ प्रतिशत राजस्व संकलन गरेको छ।
भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मंसिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व संकलनको लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएको हो। जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार राजस्व बढी संकलन भएको हो।
गत वर्ष मंसिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी राजस्व संकलन भएको छ।
रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त: शुल्क, भ्याटलगायतका शुल्कबापत भन्सार असुली गर्ने गर्छ।
कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको व्यापार प्रभावित भएको दुई वर्ष पुग्न लागेको छ। यसको असर भन्सार राजस्व संकलनमा पनि देखिएको छ। रसुवा भन्सार कार्यालयले गएको वर्ष वार्षिक लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेको थिएन।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ। नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फीमात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ। -न्युज कारखाना