
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउने कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकम प्रबन्ध निर्देशक नियुक्तिको कार्यविधि कुनै व्यक्ति विशेषको लागि नभएको अर्यालले प्रष्ट्याएका हुन्। सचिव अर्यालले कार्यविधि समितिको निर्देशनको आधारमा नै बनेको बताए। उनले पछिल्लो समय नेपाल टेलिकमको ग्राहक बढ्दै गएको जानकारी पनि समितिलाई गराए।
डा. सचिव अर्यालले भने, ‘पहिला मोवाइलहरु विलासिताका वस्तु थियो । अहिले अनिवार्य आवश्कताको भित्र पर्ने गरेको छ। जति धेरै मोवाइल प्रयोगकर्ता बढेता पनि नेपाल टेलिकमले जसरी पनि सबैलाई सेवा दिनुपर्छ। टेलिकमको पछिल्लो समय मार्केट शेयर राम्रो सुधार भएको छ । बजारको जम्मा हिंसाको ५० प्रतिशत नेपाल टेलिकमको मोवाइल नम्बर , इन्टरनेट र भ्वाइस प्रयोग गर्ने गरिएको छ । टेलिकम प्रतिशतलाई हेरेर खुसी मनाएर बस्नु पर्ने भन्ने होइन।’
उनले शेयर मार्केट बढ्दा ग्राहक मात्रै बढाउने मात्रै नभएर ग्राहकलाई चाहिने सेवा सुविधा तथा गुणस्तरिय सेवा बढाउन जरुरी रहेको पनि उल्लेख गरे। ‘यस्तो भएमा मात्रै ग्राहकले सन्तुष्टि मान्ने छन्। गुणस्तरिय सेवा विस्तार गर्ने गरी तयारीमा टेलिकम रहने छ । टेलिकमको पछिल्लो समय रणनीतिक साझेदारी ल्याउने विषय धेरै लामो समय देखि छलफल हुँदै आएको विषय हो । यो विषयमा अर्थ मन्त्रालयमा रहेको नीजिकरण समितिले अध्ययन गर्ने छ,’ उनले भने।
सांसदहरुले समितिको छलफलमा उठाएको महत्वपूर्ण विषयमा टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको कार्यविधिको विषय रहेको उल्लेख गर्दै उनले थपे- ‘यो कार्यविधिले कुनै पनि हिसावमा नेपाल टेलिकममा काम गरिहेका कर्मचारीलाई बन्देज लगाउन खोजेको छैन । यसमा न त कुनै व्यक्ति विशेषलाई गर्न खोजेको पनि होइन । यो प्रबन्ध निर्देशक नियुक्तिको कार्यविधि समितिको निर्देशन अनुसार नै खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिन्छ ।’
उनले नेपाल टेलिकममा मात्रै खुल्ला प्रतिस्पर्धाबाट ल्याउन लागेको नभई सबैका लागि भएको पनि बताए। ‘होइन भने खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने कार्यविधि नै खारेज गर्नुपर्यो। नत्र खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्दा क्षमतावान् व्यक्ति निर्देशक बन्छ । त्यसरी नै नियुक्त गरिन्छ । तर यसमा कुनै व्यक्ति विशेषलाई लक्षित गरेर कार्यविधि नल्याएको होइन । कुनै व्यक्ति विशेष मात्रै भएको भए ९ जनाको आवेदन पर्ने थिएन,’ उनले भने।
उनले यसको लागि ३५ वर्ष पुरा भएर ५६ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्ने बताए। ‘यहाँ दुई तीन वर्षको लाविग नभएर पुरा ४ वर्ष काम गर्ने गरी नियुक्त गर्नु भएकाले खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रक्रिया ल्याएको हो । प्रबन्ध निर्देशक भए पश्चात पुरा कार्यकाल काम गर्न पाउनु पर्ने मान्यता रहेको छ । यसले टेलिकममा काम गर्ने कर्मचारीलाई कुनै बन्देज लगाउन खोजिएको भने होइन,’ उनले टिप्पणी गरे।