
काठमाडौँ– यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) संसदीय समितिको निर्देशन अनुसार नहुने लगभग पक्का भएको छ।
२०७८ सालको एसईई परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत नै हुने तयारी भएको हो।
राष्ट्रिय परीक्षा बोर्डको हालैको बैठकमा एसईई परीक्षाका सम्बन्धमा छलफल भएको र तत्कालका लागि कायम रहेको कानुनी व्यवस्था अनुसार नै अघि जाने तयारी रहेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए ।
‘संसदीय समितिले दिएको निर्देशनको मर्म संघीयता अनुसार कक्षा ८ को स्थानीय तह, १० कक्षाको प्रदेश तह र १२ कक्षाको राष्ट्रिय तहमा परीक्षा गर्नु भन्ने हो’, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. शर्माले भने, ‘तर त्यो अनुसार परीक्षा गर्नका लागि कानुनी व्यवस्था हुनु पर्छ । तत्कालका लागि सो अनुसारको कानुनी व्यवस्था छैन ।’
हालको शिक्षा ऐनले कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गरी सोही अनुसार नै प्रमाणपत्र वितरणको जिम्मेवारी दिएको उनले बताए । ‘तत्कालका लागि कानुनी रुपमा स्पष्ट नभई वा जिम्मेवारी थप स्पष्ट हुने गरी ऐनमा संशोधन नभएसम्म बोर्डबाटै परीक्षा हुन्छ’, उनले भने ।
अहिले नै एसईई परीक्षालाई लिएर ठोस निर्णय नभएको र आफूहरु आन्तरिकसँगै संसदीय समितिसँग पनि छलफलमा रहेको अध्यक्ष शर्माले जानकारी दिए ।
पुस ८ गते बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) नै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । कक्षा १२ सम्म विद्यालय तह भएकाले १० मा लिइने राष्ट्रिय परीक्षा खारेज गर्न समितिले निर्देशन दिएको हो ।
तर बोर्डका अध्यक्ष शर्माले भने समितिको निर्देशनमा थप स्पष्ट हुन बाँकी रहेको र त्यसका लागि छलफल जारी रहेको बताए । त्यसपछि कुन तहको परीक्षा कसले लिने र कसरी प्रमाणपत्र वितरण गर्ने भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था हुनु पर्ने उनले बताए ।
तत्कालका लागि कायम कानुनले १० कक्षाको परीक्षा आफूहरुकै जिम्मेवारीमा रहेको उनले बताए ।
अहिले नै कहिले परीक्षा गर्ने भन्नेबारे यकिन नभएको तर विद्यार्थीहरुलाई परीक्षाको तयारीमा जुट्न भने आग्रह गरिने उनले बताएका छन् ।