
सिमकोट – थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले स्वागतसहित तथा सम्मान गरेको छ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले ११० किलोमिटर अल्ट्राट्रेल रेसमा दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम भएकी बुढालाई सोमबार सुर्खेतमा स्वागतसहित सम्मान गरेका हुन।
प्रदेश राजधानी वीरेन्द्रनगर आइपुगेकी धाविका बुढालाई विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो। मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले बुढालाई स्वागत र सम्मान गरेका हुन्।
उक्त अवसरमा मुख्यमन्त्री शाहीले कर्णालीमा सयौं सुनमायाहरु रहेको बताउँदै उनीहरुको प्रदेश सरकारले पहिचान गर्ने स्पष्ट पारे। प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको सुनाउँदै उनले भने, ‘खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको छ। कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको छ।’
नेपालमै पहिलोपटक कर्णालीमा भलिवल कभर्डहल निर्माण पनि सुरु भएको मुख्यमन्त्री शाहीले जानकारी दिए। मुख्यमन्त्री शाहीको पहलमा कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहनस्वरुप आर्थिक पुरस्कारको व्यवस्था गरेको छ।
प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ। उक्त पुरस्कार केही दिनपछि दिइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।