
बेनी – म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीयस्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ।
भ्रमणका क्रममा आएका अस्ट्रियाका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गरेका थिए।
दुई हजार ५ सय मिटर उचाइमा रहेको कोत परिसरबाट प्याराग्लाइडिङको उडान गरेका उनले करिब आधा घण्टा आकाशमै बिताएर ताकमको किमचौर फाँटमा अवतरण गरेको स्थानीयवासी कृष्णराज पौडेलले जानकारी दिए।
‘यो ताकमकोतबाट भएको पहिलो प्याराग्लाइडिङ हो, आँखैअगाडि देखिने मनोरम हिमशृंखला अवलोकन गर्दै उनले प्याराग्लाइडिङ गरे, यहाँबाट प्याराग्लाइडिङको उडान गर्ने सम्भावनालाई उजागर भएको छ,’ उनले भने।
ताकमदेखि मोटरसाइकल हुँदै कोत परिसर पुगेर पर्यटकले आकाशमा प्याराग्लाइडिङ गरेका थिए। खुला आकाशमा चराजस्तै उडेर वरिपरिका हिमाल अवलोकनसँगै भू–सतह नियाल्नुको आनन्दले लोभ्याएको उनले प्रतिक्रिया दिए।
ऐतिहासिक ताकम कोत मन्दिर पुनर्निर्माण गरी अन्य पर्यटन पूर्वाधार निर्माण भइरहेको अवस्थामा प्याराग्लाइडिङको सफल उडान भएपछि स्थानीयवासी उत्साहित बनेका छन्। ताकम गाउँको शिरमा रहेको यो कोत मन्दिर १६आँै शताब्दीमा तत्कालीन राजाले निर्माण गरेका थिए।
पूजाआजा र भाकल गरे मनोकांक्षा पूरा हुने विश्वाससाथ विजयादशमीको नवदुर्गा, ज्येष्ठ पूर्णिमा, मंसिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बलि चढाउन यस कोतमा भक्तजनको घुइँचो लाग्ने गर्छ। कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायत हातहतियार छन्।
ताकमकोतबाट बाइसे/चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको इतिहास छ। धार्मिक दृष्टिमा महत्वपूर्ण स्थलको रूपमा परिचित ताकमकोत क्षेत्र पर्यटकीय दृष्टिकोणमा समेत सम्भावनायुक्त क्षेत्र हो।
यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृंखलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ।
धार्मिक, ऐतिहासिक महत्व बोकेको ताकमकोतलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष कलानिधि सुवेदीले जानकारी दिए।