
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी भएका छन् ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एलान्गा, ६२ औँ मनिेटमा ग्रीनवूड र ७७ औँ मिनेटमा राशफोर्डले गोल गरेका हुन् । ब्रेन्टफोर्डका लागि टोनीले ८५ औँ मिनेटमा एक गोल फर्काए ।
अर्को खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ३–२ ले पराजित गरेको हो । टोटनह्यामका लागि ३८ औँ मिनेटमा ह्यारी केन तथा इन्जुरी समयको पाँचौँ र सातौँ मिनेटमा बेर्ग्विज्नले गोल गरेका हुन् । लेस्टर सिटीका लागि २४ औँ मिनेटमा डाका र ७६ औँ मिनेटमा म्याडिसनले गोल गरे ।
जितपछि पाँचौँ स्थानमा उक्लिएको टोटनह्यामको १९ खेलबाट ३६ अंक भएको छ । यस्तै २१ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा छ ।