काठमाडौँ – पानी पर्छ, केही बेरमा घाम लाग्छ । फेरि केही बेरमा पानी पर्छ, प्रि–मनसुनमा यस्तै हो । तर त्यो केही बेरको पानीले काठमाडौँका धेरै ठाउँमा दुःख भने अलिबेरलाई दिएर जान्छ ।
असजिलो पैदल यात्रीलाई मात्रै होइन गाडी चढेर हिँड्नेलाई झनै बेसी हुने रैछ । बिहीबार बिहान ललितपुरको सानेपा कालोपुलमा यस्तै देखियो । बागमती नदी किनारै किनार भएर जाने बाटो त छ, तर पानी परेपछि त्यो सानोतिनो खोला नै बन्छ । निकास नहुँदा बाटोमा पानी जमेर बस्छ ।
थोरै पानी होला भनेर गाडी चलाउनेलाई प्रायः यो बाटोले समस्यामा पार्ने गरेको छ । यस्तै भयो बा १३ च ६११० नम्बरको गाडीलाई । निस्किन्छ होला भनेको बाटोमा जमेको पानीमै फँस्यो गाडी । त्यसपछि वरपरका मानिसलाई बोलाएर धकेल्नु पर्ने अवस्था आयो ।