
काठमाडौं- नेपालका कतिपय युट्युबरहरुको दिनभरिको काम भनेकै बाटोमा भेटिएका व्यत्तिहरुलाई प्राङ्क गरेर दिन बिताउनेजस्तो देखिन्छ।
कोही व्यक्तिहरुलाई आफू मादक पदार्थ सेवन गरेको नाटक गरी बाटो बिर्सिएको नाटक गर्दै झुल्याउनु, गुडिरहेको सवारी साधन रोकेर चढ्न खोज्नु तर नचढी सरासर हिँड्नु, कुनै सार्वजानिक स्थान वा पार्कमा बसिरहेको व्यक्तिको हुलिया फोनमा बताउँदै तपाईँले खोजेको व्यक्ति यहाँ छ भन्नु, मानसिक सन्तुलन गुमाएको नाटक गर्दै हातमा धारिलो हतियार बञ्चरो लगायत बोकेर मानिसलाई खेदाउनु, नक्कली प्रहरी बनी मोटरसाइकल चालकलाई दुख दिनुजस्ता अनेकन प्राङ्क भिडियो युट्युबमा भेट्न सकिन्छ।
यस्ता भिडियोका कारण सर्वसाधारणहरुले दुख पाइरहेका छन्। प्राङ्क भिडियोकै नाममा कुनै व्यक्ति बिवाहमा गएर चिन्दै नचिनी बेहुला बन्नुपर्ने व्यक्ति म हुँ, म उसको प्रेमी हुँ, तँ को होस्, किन बिहे गरेकोजस्ता अपमानित शब्द प्रयोग गर्दै सताएर अन्त्यमा प्राङ्क हो भन्ने गरेका उदाहरण पनि छन् । त्यति मात्र होइन बाटोमा हिँडिरहेका अधवैशैँ युवायुवतीहरुलाई दोहोरो अर्थ लाग्ने किसिमका अश्लील शब्द प्रयोग गर्दै प्रश्न गर्ने र त्यस्ता भिडियो युट्युबमा राख्ने गरेका छन्।
यसरी प्राङ्कका नाममा बनाइएका भिडियोहरुले लाखौं भ्युज पाउने गरेका छन्। भिडियो बनाउने क्रममा कहिलेकाहिँ युट्युबरहरु कुटिने पनि गरेका छन्। युट्युबरहरु यस्ता कुटाइबाट कति पनि निरास हुँदैनन्। किनकि जुन भिडियोमा कुटाइ खाएको छ त्यो भिडियोमा भ्युज धेरै आउने गरेको छ। कमाउने आशामा युट्युबरको सास्ती व्यहोर्न बाध्य छन् सर्वसाधारण।
कानुनमा के छ?
कानुनलाई हेर्ने हो भने युट्युब च्यानका हकमा माथि उल्लेख गरिएका खालका प्राङ्क भिडियो प्रसारणमा रोक लगाइएको पाइँदैन। तर कुनै पनि व्यक्तिको अधिकार वा स्वतन्त्रतालाई हनन् गर्न नपाइने व्यवस्था छ।
नेपालको कानुनअनुसार कसैको अनुमतिबिना फोटो र भिडियो खिच्न तथा सामाजिक सञ्जालमा पोष्ट गर्न रोक लगाइएको छ। यदि कसैले अनुमतिबेगर कसैको तस्बिर खिचेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने भनिएको छ।
यतिमात्र नभई कुनैपनि व्यक्तिको तस्बिर निजको अनुमतिबिना अरुलाई दिन वा बिक्री गर्न तथा निजलाई झिझ्याउने वा सताउने, हैरानी पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्बिरको व्यापारिक प्रयोग गरी फाइदा लिन नपाइने भनिएको छ। यदि त्यसो गरेको खण्डमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ।
सार्वजनिक स्थानमा हैरानी दिनेविरुद्ध अभद्र व्यवहारको कसुर पनि आकर्षित हुने ऐनमा उल्लेख छ। यदि त्यस्तो भएमा एक वर्षसम्म कैद सजाय समेत हुन सक्छ।
यिनै कानुनलाई आधार मान्दै गृह मन्त्रालयले माघ १३ गते एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा के छ?
गृह मन्त्रालयले माघ १३ गते एक विज्ञप्ति जारी गर्यो। सार्वजानिक स्थानमा मजाक ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिलाई सास्ती, हैरानी दिई गोप्य रुपमा भिडियो बनाई उक्त भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने गरेकोप्रति मन्त्रालयको ध्यान आकर्षण भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमति पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
ख्यालठट्टाका सिकार भएका व्यक्तिहरुमा देखिन सक्ने मानसिकक तनाव, उत्पन्न वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै मन्त्रालयले उक्त विज्ञप्ति निकालेको हो।
ख्यालठट्टाका नाममा बनेका यस्ता भिडियो सम्बन्धित व्यक्तिको अधिकारबिना सामाजिक सञ्जालमा राख्नु कानुन विपरीत हुने भन्दै यस्तो नगर्न समेत मन्त्रालयले जारी गरेको विज्ञप्ति मार्फत अनुरोध गरेको छ।
पछिल्लो समय प्राङ्क भिडियोको नाममा विभिन्न किसिमका घट्नाहरु तथा उजुरीहरु बढेको जनगुनासो आएपछि विज्ञप्ति जारी गरिएको मन्त्रालयका प्रवक्ता पोखरेलले देशसञ्चारसँग बताए।
प्राङ्क भिडियोको नाममा कोही व्यक्तिको हक अधिकार तथा गोपनीयता जस्ता कुराहरुमा असर पर्नु हुँदैन भन्ने उदेश्यले विज्ञप्ति जारी गरिएको हो। उनी भन्छन्, ‘मानिसहरुलाई यसबाट सजग बनाउने उदेश्य राखेर ध्यानकर्षण गर्ने प्रयास भएको हो।’
अहिले भइरहेका अश्लील, गोपनीयता भङ्ग गर्ने खालका गतिविधि, मानिसलाई बिनाकारण दुख दिने जस्ता घट्नाहरु नियन्त्रण गर्न मन्त्रालयको विज्ञप्तिले केही हदसम्म भए पनि सहयोग गर्ने अपेक्षा गृह मन्त्रालयले लिएको छ।
कति मुद्दा दर्ता भएका छन्?
पछिल्लो समय प्राङ्क भिडियो प्रकाशन तथा प्रसारण गर्नेलाई साइबर ब्युरोले निगरानीमा राख्ने गरेको छ। ब्युरोका अनुसार चालु आर्थिक बर्षमा विभिन्न यूट्युब च्यानलका सञ्चालक तथा प्राङ्क भिडियो बनाउनमा संलग्न रहेका पात्रहरुसहित ४ वटा मुद्दा दर्ता भएका छन्। त्यसमध्ये २ वटा मुद्दा अदालतबाट फैसाला भइसकेको ब्युरोले जनाएको छ। बाँकी २ वटा मुद्दा भने अनुसन्धानकै क्रममा रहेका छन्।
पछिल्लो केही बर्ष यता मात्रै प्राङ्क भिडियो बनाएकै भरमा कसैमाथि मुद्दा दर्ता हुने गरेको पाइएको छ। अनलाइनका माध्यमबाट चल्ने सामाजिक सञ्जाल जस्ता माध्यमको प्रयोग बढ्दै गएसँगै साइबर अपराधका घट्नामा मुद्दा दर्ता हुनेहरुको संख्यामा समेत वृद्धि भएको पाइन्छ।
ब्युरोका अनुसार चालु आर्थिक बर्ष २०७७/७८ मा हालसम्म साइबर अपराधका २ हजार ४ सय ३८ वटा मुद्दा दर्ता भएका छन्। तथ्याङ्कलाई हेर्दा महिला र पुरुष लगभग बराबर रहेको देखिन्छ।
नेपालको परिवर्तित अवस्था कस्तो?
नेपालको सन्दर्भमा हेर्ने हो भने डलर कमाउने नाममा धेरै जसो युट्युव च्यानलहरुले प्राङ्क भिडियो बनाउने गरेको देखिन्छ। यसरी भिडियो बनाउनेहरुले कतिपय अवस्थामा सामान्य मापदण्ड समेत पालना गरेको पाइदैन। मानिसहरुलाई बीच बाटोमा रोकेर दुख दिने, महिलाहरुलाई अश्लील शब्द प्रयोग गर्ने जस्ता सामान्य विवेकका कुराहरुलाई समेत उनीहरुले कति पनि याद गरेको पाइँदैन।
यद्यपि केही युट्युव च्यानलका सञ्चालक तथा प्राङ्क भिडियो बनाउने पात्रहरुले भने पछिल्लो समय केही सन्देशमूलक जानकारी दिने खालका भिडियो पनि बनाउने गरेका छन्। कोरोना समयमा मास्क खै, सामाजिक सञ्जालको गलत प्रयोगको सिकार बन्ने जस्ता घट्नाहरुलाई समेत देखाउने गरेका छन्।
गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति पश्चात केही युट्युव च्यानलका सञ्चालकहरुले सामाजिक सञ्जालमा प्राङ्क भिडियो बनाउनु एक चुनौतीपूर्ण काम भएको बताउने गरेका छन्। प्राङ्क भिडियो निर्माण पश्चात यदि अनुमति लिएर सामाजिक सञ्जाल वा युट्युबमा राखिन्छ भने त्यस्तो भिडियोलाई गृहको विज्ञप्तिले नरोक्ने उनीहरुको बुझाइ छ।