
काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव दर्ता हुनसक्ने संकेत गरेका छन्। त्यसको लागि आफूहरु सय जना सांसद जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको उनले जानकारी दिए।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेता बस्नेतले भने, ‘हामी सय जना स्ट्याण्डबाई छौं। जुनबेला पनि सही गर्न तयार नै छौं। त्यसलाई संख्या पुर्याउने कुरामा पार्टीले पहल गरेर त्यो परिस्थिति सिर्जना गर्यो भने त्यो हुन पनि सक्छ।’
कांग्रेसका नेता डा मिनेन्द्र रिजालले समेत एमालेले महाभियोगको प्रस्ताव दर्ता गरोस् भन्ने भनाइ राखेको स्मरण गर्दै उनले थपे, ‘त्योबारेमा नेकपा एमालेले अहिलेसम्म कुनै ठोस निर्णय नगरिसकेको कारणले त्यो विषयमा अहिले मैले यो नै हुन्छ भनेर भन्न सक्दिनँ। तर, सभामुखज्यूलाई महाभियोग ल्याउन सक्ने एउटा परिस्थिति सिर्जना पनि हुनसक्छ, उहाँको कारणले।’
उसो भए एमालेले महाभियोग प्रस्ताव दर्ता गराउँछ त भन्ने प्रश्नमा नेता बस्नेतले पार्टीको निर्णय नभइकन आफूले भन्न हतार हुने बताए।
उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने सरकारको निर्णयको स्वागतसमेत गरे। स्थानीय तहको निर्वाचनको सवालमा एमालेले कसैसँग पनि गठबन्धन नगर्ने बस्नेतको दाबी छ। तर निर्वाचनमा कतिपय ठाउँमा स्थानीय आवश्यकताको आधारमा तालमेल हुनसक्ने उनले औंल्याए।
उनले कांग्रेसका केही नेताहरुमा निर्वाचनको भय देखिएको बताए। कांग्रेस नेता रामचन्द्र पौडेलमा त्यो भय देखिएको उनको भनाइ थियो।
आफ्नो पार्टीको भविष्य अन्धकार देखेको कारण प्रचण्ड र माधव नेपालले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र गरेको नेता बस्नेतले आरोप लगाए। ‘उहाँहरु सकेसम्म निर्वाचन टार्ने अवस्थामा हुनुहुन्छ। सकेसम्म निर्वाचनमा जाँदा कांग्रेससँग गठबन्धन गर्ने उहाँहरुको योजना छ’, उनले भने, ‘त्यो पनि नभए एमालेसँग पनि विभिन्न शक्तिको इसारामा उहाँहरुले एमालेका नेताहरुसँग साइनो र सम्बन्ध राख्ने काम गर्नुभएको छ। यसबारे प्रधानमन्त्री देउवा पनि सचेत हुन आवश्यक छ।’
नेता बस्नेतले एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको पत्रको विषयमा पनि उनले प्रश्न उठाए। एमसीसीमा प्रचण्डको दोहोरो चरित्र देखिएको भन्दै उनले एमसीसी पास गर्न एकातिर पत्राचार गर्ने अनि अर्कोतिर संशोधनविना पास हुँदैन भनेर प्रचण्डले भ्रम सिर्जना गर्ने काम गरेको बताए।
सत्तापक्षले आफ्नो धारणा अघि सार्नेबित्तिकै एमालेले आफ्नो धारणा राख्ने उनको भनाइ छ।