
काठमाडौँ – फागुन १ गतेदेखि कोरोनाको तेस्रो लहरले बन्द भएका हलहरु फेरि खुल्दैछन्। तेस्रो लहर शुरु हुँदा प्रदर्शन भएको चलचित्र ‘चपली हाइट – ३’ फेरि प्रदर्शनमा आउने भएको छ।
सरकारले हल खोल्ने अनुमति दिएपछि प्रदर्शनको लागि तयार भएर बसेका नेपाली चलचित्रले पनि धमाधम प्रदर्शन मिति सार्वजनिक गरिरहेका छन्।
तर यी नेपाली चलचित्रहरु प्रदर्शन हुने मितिमा बलिउडका ठूला चलचित्र पनि नेपाली हलमा प्रदर्शन हुँदैछ। अर्थात, नेपाली चलचित्र अब भारतीय चलचित्रहरुसँग भिड्दै छन्।
फागुन १३ गते प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन मितिमा सञ्जय लीला भन्सालीले निर्देशन गरेको चलचित्र ‘गंगुबाई कठियावाडी’ प्रदर्शन हुँदैछ।
पूजा शर्मा र पल शाह अभिनित यो चलचित्र प्रदर्शनको लागि २ पल्ट तयार भएर प्रदर्शन रोकिएको थियो। दशकले रुचाएको पल र पूजाको जोडीलाईलाई निर्देशकले पुन दोहोर्याएका थिए। अब यो जोडी दर्शकको आँखालाई कति मिजासिलो छ, त्यो फागुन १३ मा नै थाहा हुनेछ।
यही दिन आलिया भट्टको मुख्य भूमिकामा, अजय देवगन सहितका कलाकारको अभिनय रहेको मुम्बईको माफिया गंगुबाईको कथा प्रदर्शन हुँदैछ।
यस्तै फागुन २७ मा नेपाली चलचित्र आकाशे खेती प्रदर्शन हुँदैछ। उदय सुब्बाको कथा र निर्देशनमा बनेको यो चलचित्रमा गौरभ पहारी, विल्सन विक्रम राई, राजनी गुरुङ, बुद्धि तामाङ, निता ढुंगाना, रविन्द्र झा, शिशिर वाङ्देल र लक्ष शर्मा लगायतका कलाकारको अभिनय छ।
तर यही दिन दक्षिण भारतीय चलचित्र क्षेत्रका सुपरस्टार ‘प्रभास’ को चलचित्र राधे श्याम आउँदैछ। यो चलचित्रमा प्रभास पूजा हेगडेसँग देखिँदैछन्।
यस्तै चैत ४ गते नेपाली चलचित्र चिसो एस्ट्रे प्रदर्शन हुँदैछ भने सोही दिन बलिउड चलचित्र ‘बच्चन पाण्डे’ प्रदर्शन हुँदैछ।
यस्तै चैत ११ मा एसएस राजामौली निर्देशित बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आउँदैछ। यो चलचित्र निर्देशक, चलचित्रका कलाकारका हिसाबले बुहप्रतिक्षित चलचित्र हो। यही दिन नेपाली चलचित्र हेल्लो जिन्दगी प्रदर्शन हुँदैछ।
यस्तै चैत २५ बाट सारेर बैशाख १ मा प्रदर्शन मिति सारेको ए मेरो हजूर ४ प्रदर्शन हुने दिन भारतीय २ ठूला चलचित्र ‘केजीएफ च्याप्टर २’ र आमिर खानको ‘लालसिंह चड्डा’ प्रदर्शनमा आउन लागेका छन्।