
काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे दुर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन्।
उनले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर प्रचण्डले देशलाई गम्भीर नोक्सान पुर्याउने काममा गरिरहेको बताएका हुन्।
काठमाडौँ महानगरपालिका– ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको शनिबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेल प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याइ गरिरहेको आरोपसमेत लगाए।
‘राजनीतिक पार्टीका मान्छेहरुमा विकृति आयो भने समाजमा पनि विकृति बढ्छ। राजनीतिक पार्टीका नेता यता हेर्यो यतैका कुरा, उता हेर्यो उताका कुरा, ऊ पर हेर्यो, परका कुरा गर्ने खालका भए भने त्यो फट्याइबाट समाज आक्रान्त हुन पुग्छ’, उनले भने, ‘राजनीतिक पार्टीका मान्छेहरुले जे जनताको हितमा, देशको हितमा हुन्छ, त्यो सही कुरा बोल्ने सामथ्र्य राख्नुपर्दछ।’
नेता पोखरेलले सार्वजनिक सम्पत्ति अतिक्रमण हुन नदिन र त्यसको सदुपयोग हुने गरी अघि बढाउनका लागि स्थानीय तहहरुले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने औंल्याए।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचालगायतका सार्वजनिक क्षेत्रहरुको सफाइमा ध्यान दिने र त्यसको सदुपयोग गरेर अघि बढ्ने काममा लाग्न स्थानीयबासीलाई आग्रह गरे।
उनले काठमाडौँ महानगरपालिकालाई सुन्दर र हराभरा बनाउन आफूहरुले पार्क निर्माण कार्यलाई तीव्रता दिए पनि त्यसको सदुपयोग हुन नसकेको गुनासो गरे। मेयर शाक्यले आफूले जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको दावीसमेत गरे।