
तनहुँ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पास राष्ट्रघाती हुन नसक्ने बताएका छन्। सालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेका सहिद विक्रम परियारको अर्धकदको सालिक शनिबार अनावरण गर्दै नेता पौडेलले एमसीसी सम्झौतामा हस्ताक्षर गरेर कम्युनिष्ट घटक पन्छिने गरेको आरोप लगाए।
गरिबीपनले हिंसा र आतंकजस्ता गतिविधि हुँदै गएको उल्लेख गर्दै नेता पौडेलले नेपालमा विद्युतीय क्षमता बढाएर आर्थिक पक्षमा सबल भई गरिबी हटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि स्व परियारले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै उनले पार्टीले सहिदका रूपमा सम्मान गरेको बताए।
पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेसले सहिदको सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि लाग्नुपर्ने बताए। कलाकारिता क्षेत्रमा नक्षत्रका रूपमा उदाएका स्व परियारको बाँकी सपना पूरा गर्न र सहिद पार्क निर्माण गर्न पार्टीले पहलकदमी थाल्नुपर्नेमा जोड दिए।
अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिस्ट घटकले एमसीसी माग गरेर मूर्त रूप दिने अवस्थामा भागेको आरोप लगाए। अमेरिकाले सित्तैमा दिएको अनुदानमा बार्गेनिङ गर्नुका साथै चुनावको मुद्दा बनाएर आर्थिक संकटमा धकेल्ने षड्यन्त्र भएको बताए।
गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले सहिद परियारको परिवार र नेकाबीच पारिवारिक साथ कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। व्यासनगरपालिकाको ११ लाख एक हजार २५० रुपैयाँ लागतमा स्व परियारको अर्धकदको सालिक निर्माण गरिएको हो।