
काठमाडौँ – देशभरको मौसम मंगलबार बदली हुने तथा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी प्रणाली सक्रिए हुने क्रममा रहेको, पूर्वी वायुको प्रभाव तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभरको मौसम बदली भएको हो ।
काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बिहानैदेखि मौसम बदली भएको र केही क्षेत्रमा पानी पनि परेको मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।
दिनभर कतै पूर्ण त कतै आंशिक बदलीको अवस्था रहने देखिएको उनले बताएकी छन् । देशका सबै क्षेत्रमा पानी पर्ने सम्भावना पनि छ ।
मनसुन चाँडै
यो वर्ष मनसनु चाँडै नै सुरु हुने जस्तो देखिएको पनि मौसमविद पोख्रेलले बताएकी छन् । न्युनचापीय रेखा नेपालको ठ्याक्कैमाथि देखिन थालेको र पूर्वी वायुको प्रभाव पनि सक्रिय हुन थालेकाले यो वर्ष मनसुन चाँडै सुरु हुने देखिएको हो ।
सामान्यतया जनु १० को हाराहारीमा मनसुन सुरु हुने गर्छ । तर यो वर्ष एक दुई दिन चाँडै नै सुरु हुने जस्तो देखिएको छ । न्युन चापीय रेखा, पूर्वी वायु तथा बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव अहिले छ ।
यो मनसुन सुरु हुने गरी सक्रिय हुने अवस्थामा रहेको छ । यो वर्ष मनसुनको सुरुको चरणमा धेरै पानी पर्ने देखिएको मौसमविद पोख्रेलले जानकारी दिइन् । यस्तै मनसुनको बिचतिर भने कम पानी पर्ने सम्भावना छ ।