
रुसमा युद्धविरोधी प्रदर्शनमा सहभागी चार हजार तीन सय भन्दा बढी पक्राउ परेका छन्।
युक्रेनमा भ्लादिमिर पुटिनको आदेशमा भइरहेको आक्रमणको विरोधमा रुसमै पनि प्रदर्शन हुँदै आएको छ। आइतबार रुसका विभिन्न सहरमा भएका प्रदर्शनबाट प्रहरीले कम्तीमा ४ हजार ३०० जनालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पक्राउ पर्नेमा सबैभन्दा धेरै मस्कोका छन्। मस्कोबाट करिब एक हजार ७०० जना प्रदर्शनकारी पक्राउ परेको समाचार संस्था रियाले आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ।
रुसका ५३ सहरबाट आइतबार प्रदर्शनकारी पक्राउ परेको ओभिडी–इन्फो समूहले जनाएको छ। रुसमा प्रदर्शनमाथि कडा निगरानी गरिँदै आएको छ।
तर पनि गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु भएयता रुसमा लगातार प्रदर्शन भइरहेको हो। पछिल्लो ११ दिनमा रुसमा १० हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
युक्रेनको समर्थन तथा रुसी आक्रमणको विरोधमा विश्वका विभिन्न सहरमा प्रदर्शन हुँदै आएको छ।