
डा. बाबुराम भट्टराई नेपालका चर्चित व्यक्ति हुन् । प्रधानमन्त्री भइसकेका व्यक्ति भएकाले उनी चर्चितको सूचीमा पर्नु ठिकै हो । हाल उनी एउटा सानो पार्टीमा आवद्ध छन् । पार्टीभन्दा उनको व्यक्तित्व चर्चित छ ।
बाबुराम चर्चित हुनुको कारण यति मात्र होइन । उनको विचार बडो अनौठो हुन्छ । वैचारिक रुपमा बाबुराम दुई दशकदेखि पिङ खेलिरहेका छन् । कहिले यो छेउ पुग्छन् । कहिले पल्लो छेउ पुग्छन् । असाध्यै ढुलमुले र अस्थिर छन् । जनयुद्ध नामक अपराधको अगुवाई गर्ने नेताहरुमध्ये बाबुराम पनि हुन् । अहिले उनी आफूलाई कम्युनिष्ट नै मान्दैनन् । कम्युनिष्ट पार्टी मात्र विचार पनि त्यागिसके बाबुरामले तैपनि उग्र वाम खोलमा गरिएको जनयुद्ध र अपराधहरुमा पश्चाताप गर्दैनन् । जनयुद्धको भतर््सना गर्दैनन् । जनयुद्धको विरोध गर्दा आफूलाई हानी हुन्छ भन्ने उनले बुझेका छन् । त्यसैले अपराधिक जनयुद्धको पक्षपोषण गर्छन् । जनयुद्धको जस जति आफू लिने र अपजस जति प्रचण्ड लगायतका नेताहरुको टाउकोमा हाल्ने बाबुराम!
बाबुरामका बारेमा यति लेख्नुको कारण के हो भने उनले आइतबार राति (नेपाली समय अनुसार) ट्वीटरको स्पेशमा नेपाली पोष्टले आयोजना गरेको छलफल कार्यक्रममा अनौठा विचार राखेका छन् ।
नेपालको अर्थनीतिबारे छलफल केन्द्रीत थियो । तर, विविध विषयमा बाबुरामले बोलेका थिए । बाबुरामका विचार सुनिसकेपछि निष्कर्षमा के भन्न सकिन्छ भने उनी वैचारिक रुपमा अझै प्रष्ट छैनन् ।
कस्तो अर्थनीति ? प्राथमिकता के ?
वर्तमान नेपाल पूँजीवादी अर्थतन्त्रमा रुमलिएको छ । विश्व नै पूँजीवादी बाटोमा हिँडिरहेको तथ्यलाई नकार्न सकिँदैन । बाबुरामका विचारमा पूँजीवाद र समाजवादका राम्राराम्रा कुरा लिनु उपयुक्त हुन्छ । कुरा सुन्दा ठिकै लाग्छ तर पूँजीवाद र समाजवादको फ्यूजनले प्रभावकारी काम नगरेको विश्व उदाहरण प्रशस्त छ ।
नेपालको विकासका लागि कृषिलाई उच्च प्राथमिकता दिनुपर्छ भनेर बाबुरामले विचार राखे । वैदेशिक पूँजी नभित्राई देशको विकास हुँदैन पनि भने । ठूला र निर्यातमूलक उद्योग स्थापना गर्नुपर्छ, त्यसका लागि विदेशी लगानी ल्याउनुपर्छ भन्ने धारणा बाबुरामको थियो । पूँजीवाद र समाजवादको फ्यूजन गर्दा विदेशी लगानी ल्याउने कुरा कहाँनेर फिट हुन्छ ? बाबुराम प्रष्ट छैनन् ।
बाबुरामले चिनियाँ मोडेलको उदाहरण दिन सक्थे तर उनले चीन मूलत: पूँजीवादी भने । बाबुराम अर्थमन्त्री पनि भइसकेका व्यक्ति हुन् । अर्थनीतिमा उनी यति अस्पष्ट हुनु स्वाभाविक लागेन । वैदेशिक पूँजी भित्राउनुपर्छ भन्नु कुनै अर्थनीति होइन । पूँजी भित्राउने विचारलाई कुनै ठोस विचार मान्न सकिन्न । पूँजी भित्राउनु प्रकृया हो । पूँजी परिचालन र प्रयोग गसरी गर्ने भन्ने चाहिँ नीति हो । नीतिको विषयलाई बाबुरामले छुँदै छोएनन् ।
नेपालको समस्या के हो भने हामीले विचार धेरै नै आयात गर्यौँ तर नेपालको सन्दर्भमा त्यसलाई प्रयोग गर्न सकेनौं । धेरै कुरा नक्कल गर्यौं तर हाम्रो मौलिकता पनि मास्यौं । नेपालको अर्थतन्त्रका खास समस्या छन् । नेपालको समस्या विश्वका अरु देशसँग मिल्दैन । अरु देशको समाधान नेपाललाई काम नलाग्ने हुनसक्छ ।
पूँजी, प्रविधि, श्रम र बजारको सही परिचालन नै अर्थनीतिको उद्देश्य हो । यी चार चिजको सटिक परिचालन कसरी गर्ने ? बाबुरामसँग जवाफ छैन । बाबुरामसँग मात्र नभएर नेपालका अधिकांश नेतासँग यसको जवाफ छैन ।
पूँजी, प्रविधि, श्रम र बजारको परिचालनको उपयुक्त विधि प्रविधि पहिल्याउन नेपालले आफ्नो ध्यान केन्द्रीत गर्नुपर्छ । यसका लागि भएको चिजबिजलाई सुधार गर्ने हो । रातारात नयाँ सिर्जना गर्ने र चमत्कार गर्ने हावादारी राजनीतिक गफमा बाबुराम माहिर छन् । उनले कर्मचारीतन्त्रलाई समूल परिवर्तन गर्नुपर्छ भने । अर्थतन्त्र र कर्मचारीतन्त्रको गहिरो सम्बन्ध छ । भएको कर्मचारीतन्त्रलाई आमूल सुधार गर्नुको सट्टा समूल परिवर्तन गर्नुपर्छ भन्ने विचारले अर्थतन्त्रलाई ठिक ठाउँमा लैजाँदैन । त्यसैले बाबुरामले जति सैद्धान्तिक ब्याख्या गरे पनि त्यसलाई कार्यान्वयन गर्ने मामिलामा त्रुटिपूर्ण विचार राखेका छन् ।
गरिबले खान पाउनुपर्छ भन्न जसले पनि सक्छ । बाबुरामले पनि सक्छन् । गरिबले खाना पाउने विधि के हो ? त्यो भन्नसक्नुपर्छ । बाबुरामको बौद्धिकता ‘गरिबले खान पाउनुपर्छ’ भन्नेमा सीमित भएको देखिन्छ ।
नेपालको अर्थतन्त्रको आगामी बाटोमा कृषिको महत्वपूर्ण स्थान हुनेमा शंका छैन । अर्काे उपाय पर्यटन र जलविद्युत हो । पर्यटन र जलविद्युतको चर्चा समेत नगरी बाबुरामले नेपालको अर्थतन्त्र र नीतिको चर्चा गरे । बाबुरामले जानाजान नै पर्यटन र जलविद्युतको चर्चा नगरेका होलान् । उनले एमसीसीको चर्चा भने गरे ।
नेपालको भावी अर्थतन्त्र जलविद्युत उत्पादनसँग गासिएको छैन, विद्युतको कसरी खपत गराउने भन्ने महत्वपूर्ण हो । जलविद्युत निर्यात गर्ने घातक चिन्तनसँग सहमत हुन सकिँदैन । विश्वको सबैभन्दा मूल्यवान कच्चा पदार्थ विद्युत हो । विद्युत आफैंले खपत गर्ने हो । निर्यात दोस्रो प्राथमिकता मात्र हुनुपर्छ ।
वैदेशिक सहयोग ल्याउने विषयमा बाबुरामको विचार सही छ । सफ्टवेयर सहयोग नलिने, हार्डवेयर सहयोग लिने विचारलाई उनले समर्थन गरेका छन् । औद्योगिकरण शब्द बाबुरामले उच्चारण गरे तर कसरी गर्ने ? स्पष्ट पार्न सकेनन् । नेपालको औद्योगिकरणको जग आन्तरिक खपत हुनुपर्छ । आयात प्रतिस्थापन हुनुपर्छ । नेपालले चीन र भारतको औद्योगिक उत्पादनसँग अहिले नै प्रतिस्पर्धा गर्न सक्दैन । पहिले आन्तरिक बजारलाई ध्यानमा राखेर नेपालले उत्पादन क्षमता बढाउनुपर्छ । त्यसपछि निर्यात सोच्नुपर्छ । निर्यात प्रवद्र्धन उद्देश्य हुनुपर्छ, भइरहेका निर्यातलाई प्राथमिकता दिँदै बढावा दिनुपर्छ तर चीन र भारतले झैं निर्यातलाई नै लक्ष बनाउनु व्यवहारिक हुँदैन । आयात प्रतिस्थापनका बारे बाबुरामले बोलेनन् । अर्थमन्त्री हुँदा पनि उनले नेपालको अर्थतन्त्रका पूराना रोगहरुको उपचार गर्न सकेका थिएनन्, नयाँ उपाय पनि ल्याएका थिएनन् ।
अर्थतन्त्र र राजनीतिक स्थिरता
बाबुराम आत्मकेन्द्रित बुद्धिजिवी हुन् । सैद्धान्तिक ज्ञान राम्रो छ । तर, त्यो ज्ञानलाई उनले आफ्नो निजी राजनीतिक स्वार्थमा मात्र प्रयोग गर्छन् । स्पेश छलफलमा उनको यो कमजोरी प्रष्ट देखियो ।
देशको अर्थतन्त्र राम्रो बनाउनुपर्छ भन्ने उनको विचार हुने नै भयो । उनले बोले नै यही विषयमा । अर्थतन्त्रलाई उकास्न सबैभन्दा पहिले चाहिन्छ राजनीतिक स्थिरता । जुनसुकै आर्थिक विचार लिए पनि त्यसलाई लागू गर्न राजनीतिक स्थिरता चाहिन्छ । तर, बाबुराम राजनीतिक अस्थिरताको पक्षमा उभिए ।
नेपाली समाजलाई ध्वंस गर्नुपर्छ भन्ने माओवादी आपराधिक जनयुद्धकालीन विचार बाबुरामले अहिलेसम्म त्यागेका छैनन् । उनी अहिलेको संघीयतालाई ठिक भन्छन् र त्यसमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ भन्छन् । पूर्ण समानुपातिक पनि जातीय आधारमा हुनुपर्छ भन्छन् । बाबुरामको चिन्तनमा जात धर्म गहिरोसँग रहेको देखिन्छ । नेपाली समाज कसरी विभाजित हुन्छ भन्नेमा उनको विशेष अभिरुची देखिन्छ । मौका पाउनासाथ त्यस्तो विचारको प्रचार गरिहाल्छन् । स्पेश छलफलमा पनि उनले जातीय समानुपातिक चुनाव प्रणालीको वकालत गरिहाले ।
प्रचण्ड बाबुराम तथा आपराधिक जनयुद्धकारीहरुले संविधानसभा कालखण्डमा नेपाललाई जातीय, धार्मिक, क्षेत्रीय, लिंगिय रुपमा विभाजित गर्न खोजेका थिए । त्यसमा उनीहरु केही प्रतिशत सफल पनि भएका छन् । यतिले मात्र बाबुरामलाई चित्त बुझेको छैन । जातीय राजनीतिक प्रणाली गरेपछि अर्थतन्त्रमा कसरी सुधार हुन्छ ? कसरी नेपालले विकास र समृद्धि पाउँछ ? बाबुरामसँग जवाफ छैन । उनीहरुले जातीय राज्यमा विकास र समृद्धिको मोडल यस्तो हुन्छ भन्न सकेका छैनन् । ध्वंस गरेपछि निर्माण हुन्छ भन्ने आपराधिक विचारकै सेरोफेरोमा बाबुराम तथा उनीसँग सहमतहरुको विचार रहेको देखिन्छ ।
राजनीतिक स्थिरतालाई बाबुरामहरु घातक मान्छन् । अस्थिरतामा मात्र बाबुराम जस्ता साना पार्टीका नेताहरुले पदमा पुग्ने मौका पाउँछन्, हैसियत बनाउने मौका पाउँछन्, शक्ति हात पार्ने मौका पाउँछन् । विकास र अर्थतन्त्रलाई पनि लगेर जातीय राजनीतिमा बाबुरामहरुले गास्नुको कारण यही हो । अर्थतन्त्रमा पूँजीवाद र समाजवाद मिसाउने सैद्धान्तिक कुरा गर्ने तर राज्य व्यवस्था चाहिँ जातीय बनाउने कुरा कसरी मिल्छ ? यो त गोरुगाडामा टयाक्टरको टायर लगाए जस्तो भयो ।
राजनीतिक स्थिरता नै आर्थिक विकासको आधार हो । पूर्वाधार निर्माण नै विकासको आधार हो । विश्वव्यापी अनुभवले यो कुरा देखाइसकेको छ । नेपालकै सन्दर्भमा हेर्दा पनि यातायात र विद्युत पुगेको ठाउँको जीवनस्तर माथि उठेको, त्यस्ता ठाउँका पालिकाहरुको आम्दानी धेरै भएको देख्न सकिन्छ । राजनीतिक स्थिरतालाई प्राथमिकता नै नदिई आर्थिक सुधारको कुरा गर्नु मुर्खता हो । बाबुरामको विचारमा यस्तै मुर्खता रहेको बुझ्न पाइयो ।
आत्मकेन्द्रित हुनुको पराकाष्टा
आर्थिक सुधार कसरी हुन्छ ? अर्थतन्त्रलाई कसरी सबल बनाउने ? विकास कसरी गर्ने ? यस्ता प्रश्नको जवाफ बाबुरामले लामो दिन सक्छन् । तर, जवाफ दिँदै गर्दा उनले आफैंलाई केन्द्रमा राख्छन् । नेताका रुपमा जवाफ दिँदा बाबुरामको भनाई केही फरक हुनसक्ला तर बुद्धिजिवीको रुपमा जवाफ दिँदा, सैद्धान्तिक विषयमा छलफल गर्दा पनि आफ्नो राजनीतिक उद्देश्यलाई नै केन्द्रमा राख्नु नैतिक देखिँदैन ।
स्पेश छलफलमा बाबुरामको एउटा भनाई अचम्मलाग्दो छ । उनका अनुसार नेपालमा तीन पार्टी मात्र छ । एउटा कांग्रेस, अर्काे कम्युनिष्ट र तेस्रो चाहिँ समाजवादी । समाजवादी भनेको बाबुरामले नयाँ शक्ति हुँदै अहिले फेरेको पार्टीले बोकेको विचार अरे । चारवटा पार्टी फेरेको प्रश्नको जवाफमा बाबुरामले नेपालमा तीन पार्टी छ भनेका हुन् । समाजवादी भनेको जातीय समावेसीकरण मान्ने विचार भएको पार्टी रे । मूलत यिनै तीन पार्टी भन्ने उनको भनाई हास्यास्पद छ । आफूले पार्टी फेरेको ढाकछोप गर्न बाबुरामले यति हास्यास्पद विचार राखे । उनको यो आफैंलाई केन्द्रमा राखेर दिएको आत्मकेन्द्रीत विचार हो ।
निष्कर्षमा
बाबुराम भट्टराई बौद्धिक नेता हुन् । मन्त्री र प्रधानमन्त्री हुँदा सिन्का भाँच्न नसकेका नेता पनि हुन् । पढेलेखेका मानिसले शासनसत्ता पाए भने केही गर्न सक्छन् भन्ने आम धारणा रहेको छ । बाबुरामले यो धारणालाई खण्डित गरेका छन् । व्यक्तिगत रुपमा भने बाबुराम असल मानिस हुन् । क्रियाशील र क्रियेटिभ मानिस हुन् । कम्युनिष्टबाट गैरकम्युनिष्ट बनेपछि उनमा झन् धेरै वैचारिक अस्पष्टता बढेको छ । गरिबले खान पाउनुपर्छ भन्न जसले पनि सक्छ । बाबुरामले पनि सक्छन् । गरिबले खाना पाउने विधि के हो ? त्यो भन्नसक्नुपर्छ । बाबुरामको बौद्धिकता ‘गरिबले खान पाउनुपर्छ’ भन्नेमा सीमित भएको देखिन्छ ।
देशका लागि बाबुरामको विचार घातक छ । घुमाईफिराई उनी देशलाई जातीय रुपमा विभाजित गर्ने विचार प्रचार गर्छन् । विगतमा पनि त्यही गरेका हुन् । विगतमा साम्यवाद ल्याउन जनयुद्धको नाममा उनले धेरै मानिस मारे । जातीय राज्य ल्याउन उनले थप मानिस मार्ने वातावरण बनाउन खोज्दैछन् ।
बौद्धिकताको भयानक दुरुपयोग गर्ने व्यक्तिका रुपमा देशले बाबुरामलाई चिन्नुपर्छ र उनीबाट जोगिनुपर्छ ।