
काठमाडौँ – सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत रोयल नेपाल गल्फ क्लवमा भएको चौथो स्पर्धा सूर्य नेपाल एनपीजीए म्याच प्लेमा नेपालको नम्बर वान प्रो भुवन नगरकोटी क्वार्टरफाइनल प्रवेश गरेका छन्।
वरियताको शीर्ष स्थानमा रहेका भुवनले अठारौँ स्थानमा रहेका सचिन भट्टराईलाई पहिलो राउन्डमा ६–४ को स्कोरले हराए। चार होल्स बाँकी रहँदै ६ अप रहेका भुवन दिनभर भएका खेलहरूमा सबैभन्दा भारी स्कोरले विजयी हुने खेलाडी बने।
अब अर्को खेलमा भुवनले वरियताको नवौँ स्थानमा रहेका दिनेश प्रजापतिसँग सामना गर्ने छन्। दिनेश आफ्नो अर्को खेलमा दसौँ स्थानमा रहेका सूर्यप्रसाद शर्मालाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका हुन्।
यो प्रतियोगितामा सूर्य नेपाल गल्फ टुरको २०१८–१९ अन्तर्गत शीर्ष १६ स्थानमा रहेका व्यवसायिक खेलाडीहरू मेरिटका आधारमा छनोट हुने प्रावधान रहे पनि दोस्रो स्थानमा रहेका शिवराम श्रेष्ठ र चौधौँ स्थानमा रहेका दीपक आचार्य सहभागी नहुने भएपछि सत्रौँ स्थानमा रहेका शिवकुमार माझी र अठारौँ स्थानका सचिन भट्टराईले अवसर पाएका थिए।
वरियताको तेस्रो स्थानमा रहेका विकास अधिकारी, चौथोमा रहेका सञ्जय लामा, पाँचौँमा रहेका धनबहादुर थापा, छैटौँमा रहेका रामे मगर, सातौँमा रहेका जयराम श्रेष्ठ र दशौँ स्थानमा रहेका दीपक मगर प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

क्वार्टरफाइनल पुगेका अर्का खेलाडी सञ्जय लामा।
तेस्रो स्थानका विकास अधिकारीले शिवकुमार माझीलाई र चौथो स्थानका सञ्जय लामाले पन्ध्रौँ स्थानमा रहेका रामकृष्ण श्रेष्ठलाई ५–४ को बराबरी स्कोरले हराए। त्यस्तै पाँचौँ स्थानमा रहेका धनबहादुर थापाले तेह्रौँ स्थानमा रहेका बलभद्र राई र छैटौँ स्थानका रामे मगरले भुवनकुमार रोक्कालाई अन्तिम होलमा पराजित गरे।
यो सिजनको पहिलो इभेन्ट सूर्य नेपाल काठमाडौँ ओपनका विजेता जयराम श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै वरियताको बाह्र नम्बरमा रहेका कृष्णमान राजबाहकलाई ५–४ ले हराए। रेगुलेसन समयको १८ होलमै बराबरीको अवस्थामा रहेको खेलमा दीपक मगरले वरियताको आठौँ स्थानका रवि खड्कालाई सेकेन्ड एक्स्ट्रा होलमा पराजित गरे।
प्रतियोगिताअन्तर्गतको चार क्वार्टरफाइनल र दुई सेमिफाइनल खेल बुधवार हुनेछ भने तेस्रो स्थानको खेल र फाइनल खेल बिहीबार हुनेछ। खेलका अन्य सबै म्याच १८ होलमा हुनेछ भने फाइनल ३६ होलमा खेलाइने आयोजकले जनाएको छ।
नेपाल प्रोफेसनल गल्फ एसोसियसनले आयोजना गरेको यो प्रतियोगितामा सूर्य नेपाल प्रालि प्रायोजक रहेको छ। प्रतियोगिताका विजेताले रु दुई लाख नगद पाउने छन्। त्यस्तै शीर्ष चारमा रहेकाले क्रमशः रु ५० हजार, ३० हजार, २२ हजार र १८ हजार जित्नेछन्।
क्वार्टरफाइनलमा पराजित हुने प्रत्येकले रु १० हजार र पहिलो राउन्डबाटै बाहिरिएका व्यवसायिक खेलाडीहरूले पनि प्रोत्साहनस्वरूप रु पाँच हजार पाउने एसोसियसनले जनाएको छ।