
अपाङ्गता हुनु कसैको रहर होइन, न त समाजमा भनिएजस्तो पूर्वजन्मको फल वा कर्मको खेल नै हो। आम मानिसमा रहेको दृष्टिकोणजस्तो अपाङ्गता कुनै व्यक्ति वा मानिस नभएर केवल व्यक्ति वा मानिसमा आउने एक अवस्था हो। व्यक्त्तिको शारिरिक अंग, इन्द्रीय र मानसिक अवस्थामा आएको विचलनले गर्दा व्यक्ति वा मानिसमा अपाङ्गता देखा पर्छ। यो व्यक्ति वा मानिसको जीवनमा जुनसुकै समयमा देखा पर्नसक्छ, जन्मसँगै वा जन्मपछि।
कुनै पनि व्यक्त्तिमा अपाङ्गताको अवस्था कतिबेला आउन सक्छ भनेर भन्न सकिँदैन । मानिसमा जन्मसँगै पनि आमाको गर्भमा बच्चाको शारिरिक, मानसिक विकाससँगै इन्द्रीयहरुको राम्रोसँग विकास हुन नसकेर अपाङ्गता देखा पर्छ भने जन्मपछि विभिन्न कारण बिरामी, दुर्घटना आदि कारणले शारिरीक अंग, इन्द्रीय र मानसिक अवस्थामा विचलन आई मानिसलाई अपाङ्गताको अवस्थामा पुर्याउँछ। आजभोलिको भौतिकवादी युगमा प्रयोग गरिने भौतिक साधनहरुको गलत प्रयोग, रासायनिक तत्वहरुको गलत प्रयोग साथै मानवीय क्रियाकलाप र प्रकृतिसँगको बेमेलले गर्दा सिर्जना हुने प्राकृतिक प्रकोप, वातावरणीय परिवर्तन आदिले गर्दा झन धेरै मानिसहरुमा अपाङ्गताको अवस्था सिर्जना हुँदै गएको पाइन्छ।
एकातिर समाजमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या बढ्दै गइरहेको छ भने अर्कोतिर हाम्रो समाजमा अपाङ्गता सम्बन्धमा शिक्षा र चेतनाको अभाव छ। समाजमा अपाङ्गता सम्बन्धमा धेरै गलत धारणा व्याप्त छन् जस्तो कि अपाङ्गता हुनु पाप हो, पूर्वजन्मको फल हो। अपाङ्गता भएका व्यक्तिहरुले केही गर्न सक्दैनन्। उनीहरुमा भावना, इच्छा, चाहनाहरु केही हुँदैनन्। उनीहरुप्रति दया गर्नुपर्छ।
यस्ता गलत सामाजिक धारणाले गर्दा समाजमा अपाङ्गता भएका व्यक्तिहरु खुलेर आउन सकिरहेका छैनन्। परिवारले पनि सामाजिक इज्जत र प्रतिष्ठाको डर मानेर अपाङ्गता भएका सन्तान तथा पारिवारिक सदस्यहरुलाई घरभित्रै सीमित राख्छ। समाजका शिक्षित र सभ्य कहलिने कुलिन खानदानका परिवारका व्यक्तिहरुले पनि सामाजिक गलत धारणाकै कारण र अपाङ्गताको बारेमा शिक्षा र चेतना नभएकै कारण समाजले के भन्ला भन्ने डरले अपाङ्गतालाई लुकाएर राख्ने गरेका छन्। समाजमा सीमित क्षेत्र (अपाङ्गता भएका व्यक्तिहरु र अपाङ्गतासम्बन्धी काम गर्ने संघसंस्था) बाहेक कहिँकतै अपाङ्गताको बारेमा खुलेर बहस हुने गरेको छैन। अपाङ्गतासम्बन्धी शिक्षा र चेतना दिने ठाउँहरु पनि सीमित छन्। (अपाङ्गतासम्बन्धी काम गर्ने संघसंस्थामात्र)। तसर्थ अपाङ्गता बारेमा बुझ्न मानिस अपाङ्गता भएकै बन्नु परेको छ। विद्यालयका पुस्तकहरुमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई माया, दया र सहयोग गरिनुपर्दछ भन्ने जस्ता सीमित कुराहरु मात्रै कतै कतै समावेश गरिएको पाइन्छ, जुन अपाङ्गता सम्बन्धी ज्ञान र शिक्षाका लागि पूर्ण छैन।
अपाङ्गता हरेक राष्ट्र, समुदाय र परिवारभित्र हुन्छ। त्यसैले यो व्यक्तिगत नभएर सामाजिक र राष्ट्रिय सवाल हो। जसरी समाजका अन्य क्षेत्रहरु सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रले समाजलाई प्रभाव पारिरहेको हुन्छ, त्यसैगरी अपाङ्गताले पनि व्यक्ति र परिवारलाई मात्र नभएर समाज र राष्ट्रलाई नै प्रभाव पारिरहेको हुन्छ। त्यसैले विश्वव्यापी रुपमा अपाङ्गता आन्दोलन भएर अपाङ्गतालाई सम्बोधन गर्ने अपाङ्गता कानुन तथा नीतिहरु निर्माण भएका छन्। अहिले विश्वस्वव्यापी रुपमा भएका अपाङ्गता आन्दोलन, अपाङ्गतालाई सम्बोधन गर्न बनेका कानुनहरुको प्रभावस्वरुप नेपालमा पनि अपाङ्गता आन्दोलन र अपाङ्गता कानुनहरु निर्माण भएर थोरै भए पनि अपाङ्गता भएका व्यक्तिहरुमाथि गरिने सामाजिक व्यवहार र अपाङ्गतालाई हेर्ने मानवीय दृष्टिकोणमा परिवर्तन आएको छ तर त्यो सीमित छ। नीतिनिर्माण र राज्य सञ्चालन तहका व्यक्तिहरुमै सम्बन्धित बुझाइ र ज्ञानको अभाव छ। यसले गर्दा बन्ने गरेका अपाङ्गता कानुनहरु तथा नीति नियमावलीहरु उनीहरुको आवश्यकताभन्दा फरक बन्ने गरेका छन्।
अपाङ्गतालाई अवसर र पहुँच दिनेभन्दा पनि दयाको भावमा हेर्ने गरिन्छ। कोही पनि व्यक्ति आफूले चाहेर अपाङ्गताको अवस्थामा पुगेको हुँदैन। मानिस एक अवस्थाबाट अर्को अवस्थामा पुग्नेबित्तिकै उसको आत्मबल कमजोर भइसकेको हुन्छ। त्यसैमाथि समाजमा रहेका अपाङ्गता सम्बन्धी गलत धारणाहरुले र ऊप्रति गरिने सामाजिक व्यवहारले गर्दा उसलाई झनै कमजोर बनाइरहेको हुन्छ र ऊ अकालमा मर्न बाध्य हुन्छ। यसरी समाजमा रहेको गलत धारणा र दृष्टिकोणले मानिसलाई अकालमा मर्न बाध्य बनाइरहेको हुन्छ।
जतिसुकै आन्दोलन भए पनि र कानुन निर्माण भए पनि अपाङ्गता सम्बन्धमा समाजमा रहेका गलत धारणाहरु हटेर मानवीय दृष्टिकोणमा परिवर्तन आउँदैन भने कुनै कुरामा परिवर्तन आउँदैन। यो पारिवारिक, सामाजिक र राष्ट्रिय समस्याको रुपमा रहिरहन्छ। अपाङ्गतालाई समस्याको रुपमा भन्दा पनि एक परिवर्तित सामान्य अवस्था हो भन्ने बोध गराउन सकियो भने मात्रै अपाङ्गताको अवस्थामा परिवर्तन गर्न सकिन्छ। यसैले गर्दा सामाजिक गलत धारणाहरु हटाउँदै सामाजिक संरचनामा परिवर्तन गर्न र समाजलाई अपाङ्गता मैत्री बनाउन प्रत्येक व्यक्तिमा अपाङ्गता सम्बन्धी पूर्ण ज्ञान हुनु अहिलेको समयको अपरिहार्य आवश्यकता हो। जबसम्म हाम्रो सामाजिक संरचनाहरुमा परिवर्तन आउँदैन, तबसम्म सामाजिक समस्याहरु ज्यूँका त्युँ रहनेछन्। सदियौंदेखि जरा गाडेर बसेको सामाजिक संरचना परिवर्तन गर्नु त्यत्ति सजिलो कुरा हैन, एकैपटक हुन पनि सक्दैन। यसको लागि समाजमा रहेका हरेक मानिसको दृष्टिकोणमा परिवर्तन आउनु पर्दछ।
विद्यालयका पाठ्यक्रमहरुमा नै विद्यार्थीहरुको बुझाइअनुसार तहगत रुपमा सबै प्रकारका अपाङ्गतालाई समेटेर र उनीहरुको पहुँच र आवश्यकताको बारेमा पुस्तकमा समेटेर अपाङ्गता शिक्षालाई समावेश गर्दै जाने हो भने विद्यालयसम्म पुग्ने हरेक व्यक्तिमा यस सम्बन्धी शिक्षा, चेतना र ज्ञान अभिबृद्धि हुँदै जाने छ।
मानिसको कुनै कुरा तथा वस्तुप्रतिको दृष्टिकोणमा एकै चोटिमा परिवर्तन गर्न सकिँदैन किनकि हरेक मानिसको दृष्टिकोणलाई बालककालदेखिको अझ भनौं, आमाको गर्भमा रहँदादेखिको उसको अवस्था र जन्मेदेखिको उसको हुर्काइ र शिक्षा प्राप्त गर्ने वातावरण (स्कुलिङ) ले प्रभाव पारेको हुन्छ। ऊ हुर्किने पारिवारिक, सामाजिक र शैक्षिक वातावरण र उसले आर्जन गर्ने ज्ञानहरुले कुनै पनि व्यक्तिको कुनै पनि कुराप्रतिको दृष्टिकोणलाई धेरै प्रभाव पार्ने हुन्छ। व्यक्तिको दृष्टिकोण र सामाजिक संरचनालाई अपाङ्गता मैत्री बनाउन व्यक्तिलाई अपाङ्गता शिक्षा आवश्यक पर्दछ।
अपाङ्गता कुनै समस्या होइन, यो एक सामान्य परिवर्तित अवस्था हो भन्ने बोध गराउन प्रत्येक व्यक्तिमा उमेर अनुसार अपाङ्गता सम्बन्धी शिक्षा र चेतना हुनु जरुरी छ।
यो विषयमा हरेक परिवार समुदाय र राज्य शिक्षित र चेतनशील हुनु जरुरी छ, त्यसको लागि सभा, सम्मेलन, गोष्ठी र सामुदायिक भेलाका चेतनामूलक कार्यक्रमहरुले मात्रै सम्भव छैन।
विद्यालयका पाठ्यक्रमहरुमा नै विद्यार्थीहरुको बुझाइअनुसार तहगत रुपमा सबै प्रकारका अपाङ्गतालाई समेटेर र उनीहरुको पहुँच र आवश्यकताको बारेमा पुस्तकमा समेटेर अपाङ्गता शिक्षालाई समावेश गर्दै जाने हो भने विद्यालयसम्म पुग्ने हरेक व्यक्तिमा यस सम्बन्धी शिक्षा, चेतना र ज्ञान अभिबृद्धि हुँदै जाने छ। फलत: समाजका हरेक क्षेत्रमा अपाङ्गता सम्बन्धी चेतना र ज्ञान भएका व्यक्तिहरु बढ्दै जानेछन्।
व्यक्ति र समाजमा अपाङ्गतालाई हेर्ने सामाजिक र मानवीय दृष्टिकोणमा परिवर्तन आउँदै जाने छ। सामाजिक गलत धारणाहरु हट्दै जाने छन्। अपाङ्गता भएका व्यक्तिहरुमाथि हुने सामाजिक विभेद हट्दै जानेछन् र अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह हेर्ने र समान सहभागिता गराउने सामाजिक अभ्यासहरु बढ्दै जाने छन्। अपाङ्गताको प्रारम्भिक पहिचान हुने छ र त्यसको प्रभाव कम गर्न सकिनेछ। समाजमा अपाङ्गता मैत्री संरचनाहरु बन्नेछन्। फलस्वरुप सामाजिक संरचनाहरुमा परिवर्तन भई समाज अपाङ्गता मैत्री हुनेछ। अपाङ्गता भएका व्यक्तिहरुको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच पुग्ने छ। फलस्वरुप अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक आर्थिक र राजनितिक अवस्थामा परिवर्तन भई समाजका अन्य व्यक्तिहरु सरह सम्मानजनक जिवनयापन गर्न सक्षम हुने छन्। अपाङ्गता भएका व्यक्तिहरुको आत्मबलमा बृद्धि भई आत्महत्या गर्नेजस्ता कार्यहरुमा कमी आउने छ। अपाङ्गताको अवस्था आउँदैमा व्यक्तिले ज्यान गुमाउन पर्दैन। यसैले गर्दा अपाङ्गता शिक्षा अहिलेको समयको अपरिहार्य आवश्यकता हो जसलाई पूर्ण रुपमा प्राप्त गर्न विद्यालय पाठ्यक्रमहरुमा समावेश गरिनुपर्छ।
(लेखिका हुमागाईँ श्रुति संस्थाका महासचिव हुन्।)