
पोखरा – गण्डकी प्रदेशमा एकीकृत समाजवादीबाट एक जना पनि सांसद छैनन्। एमाले विभाजित हुँदा माधवकुमार नेपाल पक्षीय भनिएका ईन्द्रलाल सापकोटाले एमाले नै रोजेपछि यहाँ एकीकृत समाजवादीको उपस्थिति शून्य बराबर छ।
सत्ता गठबन्धनमा रहेका सबै पार्टी सबै प्रदेश र संघ सरकारमा सहभागी हुने प्रस्तावस्वरुप सुदूरपश्चिम प्रदेशमा कांग्रेसले मन्त्री मागेको छ । उता कांग्रेसले भाग मागेपछि गण्डकीमा एकीकृत समाजवादीले पनि आफ्नो भाग खोजेको छ। यही कारण प्रदेश मन्त्रिपरिषदमा एकीकृत समाजवादीले गैरसांसदलाई मन्त्री बनाएर पठाउने तयारी गरेको चर्चा छ।
‘सुदूरपश्चिम प्रदेसमा कांग्रेस छैन, त्यहाँ कांग्रेस जाने। यहाँ हामी छैनौं, हामी पनि जाने हुनसक्छ’, एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले भने, ‘यो राम्रै कुरा हो। पार्टीभित्र छलफल भैसकेको छ।’
केन्द्रीय नेतृत्वका बीचमा छलफल भएर सहमतिसमेत भैसकेको उनले सुनाए। ‘व्यक्तिको बारेमा भने छलफल भएको छैन। तर, सरकारमा सहभागी हुने कुरा चाहिँ लगभग पक्का हो’, उनले भने, ‘अब कसलाई पठाउने केन्द्रबाटै आउँछ होला।’
स्रोतका अनुसार प्रतापलाल श्रेष्ठ र श्रीनाथ बरालमध्ये एक जनालाई मन्त्री बनाउने चर्चा छ। ‘दुवैजना बलियो दावेदार हुनुहुन्छ। दुईमध्ये सम्भवतः एक जना मन्त्री बन्ने पक्का जस्तै हो’, स्रोतले भन्यो।
तर, मन्त्रिमण्डलमा कसरी सहभागी गराउने भन्ने टुंगो भने अझै लागेको छैन। संविधानतः गैरसांसद ६ महिनाका लागि मात्रै मन्त्री बन्न पाउँछ। संविधानअनुसार २० प्रतिशत सांसद मन्त्री बनिसकेका छन्। कोटा पूरा भएकोले अब भैरहेका मन्त्रीलाई फिर्ता बोलाएर समाजवादीलाई छिराउनुपर्छ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भने यस विषयमा आफूलाई आधिकारिक जानकारी नआएको बताए। ‘आधिकारिक रुपमा मैले थाहा पाएको छैन। मिडियाहरूमा आएको सुनेको छु’, उनले भने, ‘केन्द्रले टुंग्यायो भने छुट्टै कुरा नत्र अहिले नयाँ मन्त्री बनाउन सजिलो छैन।’
१२ मन्त्रीमध्ये यहाँ कांग्रेसको मात्रै पाँच जना छन्। माओवादीबाट चार जना, जनता समाजवादीका एक जना र अर्का एक जना स्वतन्त्र सांसद छन्। अनौपचारिक रुपमा एकीकृत समाजवादीका नेताहरूले खबर गर्दा कोटा नभएको जवाफ मुख्यमन्त्रीले फर्काए। अरुले पनि गैरसांसदलाई मन्त्री बनाउने कुरा शोभनीय नहुने सुझाव दिएका छन्। -न्युज कारखाना