
काठमाडौँ – साना व्यापारीहरुले विदेशबाट वस्तु आयात गर्दा नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको प्रतिशत मार्जिनले आफूहरु मारमा परेको बताएका छन्।
आफूहरुसँग छलफलसमेत नगरी आयातमा सत प्रतिशत मार्जिनको व्यवस्था गरिएको भन्दै उनीहरुले आपत्तिसमेत जनाएका छन्। उनीहरुले आयात गरिएको सामान भन्सारमा रोकिँदा व्यापार धराशायी बन्न लागेको बताए। ५ महिना अगाडि खरिदमा लगानी गरे पनि अहिलेसम्म बजारमा सामान नआएकाले बैंकको ब्याज बढेर व्यवसायबाट भाग्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातमा सतप्रतिशत मार्जिन व्यवस्थाले व्यापारीहरुलाई मानसिक तनाव बढाएको बताए। उनले मार्जिन लागू हुनुभन्दा अगाडि अर्डर गरेर ल्याएका सामानसमेत विभिन्न बहानामा ३ महिनादेखि भन्सारमा नै रोकिएको बताए।
कटुवालले सरकारले मार्जिन व्यवस्था लागू गर्नुभन्दा अगाडि अर्डर गरेर खरिद गरिएको सामान आयातको विषयमा अध्ययनविना नीति लागू गरेकाले अहिले व्यवसायीहरुलाई मर्का परेको दाबी गरे।
‘अहिले भन्सारमा सामान ल्याउने कन्टेनरको समेत भाडा बढेकाले बजारमा आउने समानको अत्यधिक मूल्यवृद्धि भएको छ’, उनले भने, ‘साना तथा मझौला व्यवसायीहरुको पहुँच नपुग्ने भएकाले सरकारले साना व्यवसायीहरुलाई उपेक्षा गरेको छ।’
सरकारले भन्सार सहजीकरण नगर्दा गर्मी मौसमको लागि ५ महिना अगाडि खरिद गरेका सामान बजारमा नआएको अध्यक्ष कटुवालले बताए।
चीन सरकारले अघोषित नाकाबन्दी गर्दा ३ वर्षदेखि साना व्यवसायीहरु समस्यामा रहँदा पनि सरकारको आँखा नपुगेको दुःखेसो बताए।
‘नियमनकारी निकायमा बस्ने कर्मचारीहरुले कोठामा बसेर निर्णय गर्दा बजारका समस्या हल हुँदैन। बजारमा आएर समस्या बुझ्नुपर्छ’, उनले थपे, ‘तीन वर्षदेखि थलिएर रहेको व्यवसायीको समस्या बुझ्ने काम भएन। त्यसले गर्दा हजारौं उद्योगी व्यवसायी विदेशिन बाध्य भएका छन्।’
काठमाडौँको महाबौद्धमा कपडा व्यापार गर्ने व्यापारी झविन्द्र जीसीले तीन महिना अगाडि गर्मी महिनाको सामान खरिद गरे पनि अहिलेसम्म भन्सारबाट सामान नआएको बताए।
उनले सरकारले सामान आयातमा ल्याएको सत प्रतिशत मार्जिनको नीतिले साना व्यवसायीलाई थप मारमा पारेको गुनासो गरे।
सरकारको नीतिको कारण साना व्यापारी मर्कामा परेको अर्का व्यापारी कुलेन्द्र जीसीले बताए। उनले अर्डर गरिएका समान भन्सारबाट सहज रुपमा पाँच महिनासम्म नआउँदा व्यापार नै ठप्प रहेको बताए।