
काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन्।
काठमाडौँमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रंङको टुंगो लगाएको आरोप लगाएका हुन्।
एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएरमात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनको आरोप छ।
‘हामीसँँग छलफल गर्नुपर्दैन। सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नु नपर्ने’, उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ। गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो।’
एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाए।
आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने ओलीको भनाइ छ।