
काठमाडौँ – बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहको बयान सकिएकाे छ। अहिले उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिइरहेकाे छ।
शाहका म्यानेजर जोशीकाे बयान अहिले भइरहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए। उनले भने, ‘शाहको बयान हिजो नै सकिएकाे हाे। अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान गरेका छौं।’
शाहले बयानका क्रममा आफूमाथि लागेको आरोप सत्य नभएको बताएका छन्। ‘बयानका क्रममा उहाँ (पल शाह)ले आफूले करणी गरेको भनेर स्वीकार्नु भएको छैन’ स्रेस्तेदार कुँवरले भने, ‘दुवै जनाको बयान सकिएपछि बाँकी प्रकियामा जान्छौं।’
सरकारी वकिल कार्यालय तनहुँले मंगलबार अदालतमा दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। नाबालिगले आफूलाई करणी गरेको भन्दै फागुन ११ गते तनहुँ प्रहरीमा किटाने जाहेरी दिएकी थिइन्। प्रहरीले १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई करणी गरेको आरोपमा शाहलाई फागुन १५ गते पक्राउ गरेको हो। नाबालिगले गैंडाकोट प्रहरीमा समेत शाहले सुटिङका क्रममा करणी गरेको भनी जाहेरी दर्ता गरेकी थिइन्।
शाहले भने प्रहरीको अनुसन्धानमा पनि करणी गरेको स्वीकार गरेका छैनन्। शाहले घटना भएको दिन किशोरीसँग एउटै घरमा बसेको र राति १२ बजेतिर किशोरीको कोठामा बियरको बोतल लिएर पुगे पनि करणी नगरी फर्किएको दावी गर्दै आएका छन्। तर पीडित किशोरीले भने सोही समयमा करणी भएको बताएकी छिन्।
दुई प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ।
पल प्रकरणमा उनका म्यानेजर कृष्णप्रसाद जोशी पनि घटना लुकाउने भूमिकामा देखिएका छन्। उनीविरुद्ध शाहको आधा सजाय माग गर्दै मंगलबार अदालतमा मुद्दा दर्ता गरिएको छ। शाहलाई खोजी गर्दैगर्दा सामाजिक सञ्जालमा जथाभावी बोल्न थालेपछि उनी पनि प्रहरीको अनुसन्धानमा तानिएका हुन्।