
काठमाडौँ – नेपालमा पछिल्लो समय फस्टाउँदै गएको व्यवसाय हो पुष्प व्यवसाय। केही वर्षअघिसम्म सामान्य मानिएको यो व्यवसायमा पछिल्लो समय युवा पुस्ताको आकर्षण देखिन्छ। पुष्प व्यवसायमा आकर्षण बढ्दै गएसँगै यस व्यवसायमा थुप्रै चुनौतीसमेत थपिएको व्यवसायी बताउँछन्।
भारतसँगको खुला नाका व्यवसायको मुख्य कारण रहेको मिलन नर्सरीका सञ्चालक तीर्थ लोप्चन बताउँछन्।
‘भनेको बेला मल पाइँदैन, औषधि पनि पाइँदैन, महँगी बढ्दो छ, त्यसैले धेरै चुनौती छ।’ उनी भन्छन्, ‘बजारीकरणको समस्या त थियो नै त्यसमा पनि कोभिडका कारण अझै समस्या थपिएको छ। व्यापार केही मात्रामा घटेको छ।’
उनी आफू विदेश गएर फर्किएपछि पुष्प व्यवसायमा लागेको उनी बताउँछन्। उनीहरू दाजुभाइ ३ जनाले मिलेर नर्सरी चलाइरहेका छन्।
त्यस्तै, अर्का व्यवसायी सुमन महर्जन पनि मित्र राष्ट्र भारतबाट अनियन्त्रित रूपमा बिरुवा भित्रिनु नै पुष्प व्यवसायको मुख्य चुनौती रहेको बताउँछन्।
उनी भन्छन्, ‘भारतमा पुष्प व्यवसायका लागि मार्केट एकदमै ठूलो छ अनि प्रोडक्सन कस्ट पनि एकदमै कम छ, त्यसैले गर्दा पारिबाट निकै सस्तोमा सामान आउने भएकाले हाम्रो उत्पादन हुँदा हुँदै पनि पारिको सामानले बजार पाइरहेको छ।’
फूलहरूलाई स्टोर गरेर राख्न नमिल्ने भएकाले कोभिडका कारण आफूहरूसँगै पुष्प व्यवसायमा लागेकाहरूले ठूलो घाटा व्यहोर्नुपरेको उनी बताउँछन्।
नेपाल पुष्प व्यवसायमा भने आत्मनिर्भर हुँदै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालमा महासचिव विश्वमणि पोखरेलको भनाइ छ।
‘नेपालमा अहिले वार्षिक रुपमा हेर्ने हो भने १० देखि १५ प्रतिशतसम्म पुष्प व्यवसाय बढ्दो क्रममा छ’, उनी भन्छन्, ‘नेपालमा हाल बिक्री हुने फूल ९० प्रतिशत नेपालमै उत्पादन हुन्छन् भने १० प्रतिशत हाराहारीमा बाहिरबाट आउँछ।’
उनका अनुसार कोभिडका कारण पुष्प व्यवसायमा १ अर्ब रुपैयाँभन्दा बढी घाटा व्यहोर्नुपरेको छ। नेपाल पुष्प व्यवसायमा ९० प्रतिशत आत्मनिर्भर भइसकेकाले आयातमा रोक लगाउँदै निर्याततर्फ जोड दिन आवश्यक रहेको र सरकारसँग सोबारे छलफल भइरहेको उनले बताए।
२३औँ फ्लोरा एक्सपो जावलाखेल मैदानमा बिहीबारबाट सुरु भएको छ। एक्सपो १३ गतेसम्म जारी रहनेछ। पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले एक्सपो आयोजना गरिएको हो।