जब जब म्याग्दीका बुढामगरको चकटी थुतिन्छ
गासको अभावमा, त्रासको बिग्बिगीमा रोल्पालीलाई मुग्लान धपाइन्छ,
जब जब न्यायको गला रेटिन्छ अदालतमा,
रविन्सन्सहरू छुटाइन्छ गन्हाउने सौदाबाजीमा
जब जब निर्दोष कौशिलाहरूको अवरुद्ध गला तर,
फुटेका चुराहरूको नमीठो संगीत सुनिन्छ,
जब स्वप्नदोषका टाटाहरूमा “जुम्ला” भेटिन्छ
विस्फारित नयनहरू चलाउँदै “नेपालगन्ज” हाँस्छ ।
जब खण्डहर विवश बाँचिरहेको “बेनी”एक जीजिविषा भेटिन्छ
एक निमेष पनि नखोली परेलाहरू
कुन्नि किन हो “लुम्बिनी” कुम्भकर्ण निदाउँछ ।
जब सुर्खेत दुख्छ,जाजरकोट चहर्याउँछ, रुकुम भलभली बग्छ ।
जब दोरम्बा दरदराउँछ, होलेरी हुडलिन्छ, माडी धुरुधुरु रुन्छ,
तब,
चण्डमुण्ड र भस्मासुरहरू राजधानीमा
कक्टेल पिउँछन्, मिट्बल् चपाउँछन् अनि लाभेण्डरको तेल घस्छन् ।
जब जब छायादेवीहरू पर्दामा आउँछन् र एकाएक हराउँछन्
प्रेतात्माहरू घुम्छन् र राजनीति छल्छन् ।
जब भाइहरूद्वारा “मांसचरु” बनाइन्छ, हवन गरिन्छ,
विजयका लागि अश्वमेध होइन नरमेध यज्ञ गरिन्छ,
जब रिक्सावाल दाजुहरूलाई आफ्ना डढेका साधनहरूबीच “मित्रवत्” भोकै सुताइन्छ,
जब यस्तै यस्तै घटनाहरू घट्दछन्,
एउटा बिम्ब आउँछ आँखा अगाडि
बेनको शरीर मन्थन गरेर जन्मेको “पृथुराजा” र
उनलाई सहयोग गर्नेहरूको लावालस्कर ।
देख्छु,
कुवेर, वरुण र वायु — सुनको सिंहासन, सेतो छाता र व्यन्जन ।
धर्म, इन्द्र र यमराज — कीर्तिको माला, मुकुट र दण्ड ।
ब्रम्हाजी, हरि र सरस्वती — कवच, सुदर्शन चक्र र हार ।
लक्ष्मी, रुद्र र तोष्टा — ऐश्वर्य, असीम र रथ ।
चन्द्रमा, सूर्य र आकाश — घोडा, चाप र हिराहार ।
तर वर्तमान किन पार्थक्य ?
देख्छु— शोषित, पीडित र उपेक्षित समाज
सुन्छु— क्रन्दन,आक्रोस र विद्रोही आवाज ।
यतिबेला चारैतिर अशुभै अशुभ अनुभूत गर्दैछु ।
इतिहासका टोलेमीहरूसँग क्लियोपेट्राहरू–आर्सिनोयहरू हाडनाता करणी गर्दैछन्
शक्तिको उन्मादमा “इजिप्सियन विवाह” ।
केही उद्यापन
केही आरम्भ
आतंकको अर्को सुनामी यतैतिर आउँदैछ ।
जब जब सिंहदरबारका अनुहारहरू र
तिनका सापेक्षमा असुरक्षित आम नागरिक देखिन्छन्,
मिथ्या लाग्छन् वर्तमानका पात्रहरू जो किलकिले थिचेर
वाक स्वतन्त्रताकोे वकालत गर्छन् ।
प्रसवको बेदनामा हिजो,
आमाहरू “इक्लेम्सिया”मा थिए त के भो र ?
अब त ब्युँतिदैछन्, जन्माउँदैछन् अधिनायकवाद विरोधी सन्तानहरू ।
सुन्दैछु,
डोका डोका भरि काटिएका अङ्गहरूको पनि श्रेस्ता चाहिन्छ रे,
हाम्रा सन्तानलाई बलिबेदीमा होमेर आफ्नालाई
अहिर्ले एक्किनो’ र्र ओलेक्सी पोरोसेन्को ’ बनाएको पनि हिसाब चाहिन्छ रे ।
पृथु !
जब जब यहाँ प्रभृत्तिका बेमेल दृश्यहरू देखिन्छन्
वर्तमानको घायल कविता दिन्छु,
त्यसमा शीतल मल्हम लगाएर पढ्नू
सक्छौ भने आऊ, सँगै बसेर शान्ति र सम्वृद्धिका कविता लेखौँ ।
नत्र
तिमीलाई भत्भति पोल्नसक्छ ।
तिम्रै उद्यापनको बाटो खुल्नसक्छ ।