
बुटवल – बुटवलमा सुकुम्बासी बस्तीमा घडेरी दिने भन्दै टोल विकास संस्थाले रकम असुलेको पाइएको छ। अवैध रुपमा रकम असुलेको टोल विकास संस्थाले विवाद थामथुम पार्न लालपुर्जा भन्दै जग्गाधनी प्रमाण पत्र बाँडेको छ।
बुटवल उपमहानगरपालिका ११ को हात्तीसुड टोल विकास संस्थाले घडेरी दिने भन्दै लाखौँ असुलेको स्थानीयको आरोप छ। उनीहरूले पत्रकार सम्मेलन गरी नदी किनारमा घडेरी दिने भन्दै रकम लिएर पनि घडेरी नदिएको बताएका छन्।
विवाद बढ्दै गएपछि टोल विकास संस्थाकै पदाधिकारी पनि अध्यक्षसहितका केही पदाधिकारीको विरोधमा उत्रिएका छन्। टोल विकास संस्थाकै कोषाध्यक्ष सरस्वती गलामीले अध्यक्षसहितका पदाधिकारीले सर्वसाधारणबाट रकम लिँदा रसिद नदिने र नगद कारोबार गरेर रकम हिनामिना गरेको बताइन्।
‘ज्याला मजदुरी गरेर छाक टार्ने सोझा मान्छेबाट रकम असुलेर मनपरी गरिएको छ, छानबिन गरेर कारवाही हुनुपर्छ’, उनले भनिन्, ‘यसरी मनपरी गर्न पाइँदैन, रकम लिएकाहरूलाई जग्गा दिइयोस् या रकम फिर्ता गराइयोस्।’
संस्थाका सल्लाहकार सुनील न्यौपानेले टोल विकास संस्थाका पदाधिकारीले झण्डै १८ लाख रुपैयाँ गैरकानुनी ढंगले असुलेर हिनामिना गरेको आरोप लगाए।
उनले भने, ‘सुकुम्बासी परिवारलाई कमाइ खाने भाँडो बनाइएको छ, ठूला दलहरू भोट घट्ला भनेर तैँ चुप मै चुप छन्, कसैले बोलेको छैन पीडित झन् पीडित भए।’
टोल विकास संस्थाका पदाधिकारीले सार्वजनिक जग्गामा घडेरी दिने भन्दै रकम लिएको, सुकुम्बासीलाई घडेरी नदिएको बरु आफू र आफन्तको नाममा घर बनाई भाडामा लगाउने गरेको उनीहरूको आरोप छ।
टोल विकास संस्थालाई तीन लाख ४० हजार रुपैयाँसम्म बुझाएर पनि जग्गा नपाएको स्थानीय बताउँछन्। कतिपयले १२ वर्षअघि रकम बुझाए पनि अहिलेसम्म जग्गा नपाएको गुनासो गरेका छन्।
स्थानीय लक्ष्मी राई भन्छिन्, ‘टोल विकास संस्थाले ७२ हजार रुपैयाँ लिए तर १२ वर्षसम्म जग्गा दिएका छैनन्, जग्गा कहाँ दिनुहुन्छ भनेर सोध्न जाँदा दिन्छौं, नआत्तिनुस् भनेर टार्दै आएका छन् यसरी किर्ते काम गर्नेमाथि सरकारले छानबिन गरेर कारबाही गरोस्।’
स्थानीयको आरोप टोल विकास संस्थाले स्वीकार गर्छ। तर, रकम हिनामिनाबारे भने छानबिन हुने बताउँछ। टोल विकास संस्थाका अध्यक्ष भीमसेन श्रेष्ठ भूमिहीनलाई सरकारले जग्गा बाँड्ने प्रक्रिया रहेकाले बसोबास गरेको प्रमाणका लागि टोल विकास संस्थाले बनाएको लालपुर्जा बाँडेको स्विकार्छन्। उनले रकम हिनामिनाबारे छानबिन गरिने बताए।