
पोखरा- प्रदेश नम्बर ४ ले आगामी आर्थिक बर्ष २०७५/७६ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले शुक्रबार प्रदेशसभाबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले आगामी आर्थिक बर्षमा भौतिक पूर्वाधारलाई विशेष जोड दिने गरी कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश सरकारले प्रदेश सरकारले प्रदेश भित्रै रोजगारी सिर्जना गर्ने र औद्योगिक क्षेत्रको विकास गर्ने योजनालाई अघि सारेको छ । बार्षिक ८ प्रतिशतका दरले आय बृद्धी गर्ने घोषणा गरेको छ । प्रतिब्यक्ति आय २५ सय अमेरिकी डलर पु¥याउने लक्ष्य र र ५ बर्ष भित्र गरिवी ७ प्रतिशतमा झार्ने योजना समेटेको छ ।
प्रदेशभित्र बहुउपयोगी सम्मेलन केन्द्र, अन्र्तराष्ट्रिय खेलमैदान, बिशिष्टीकृत मुटुरोग, मृगौला र क्यान्सर अस्पतालको निर्माण, स्थानीय तहमा २५ शैया, नगरपालिकामा ५० र प्रदेश राजधानीमा हजार शैयाको अस्पताल निर्माण थालनी गर्ने जनाएको छ । त्यसैगरी कृषि उत्पादनलाई दोब्बर बनाउने, कोरलादेखि पोखरा र पोखरादेखि सुस्तासम्मको दु्रतमार्ग निर्माणको योजना लाई प्राथमिकतामा राखेको छ ।
पर्यटन लक्षित गतिविधिलाई जोड दिँदै सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने, पोखराका तालहरुलाई जोड्न मोनोरेल सञ्चालन गर्ने, प्रदेशको राजधानीदेखि स्थानीय तहका केन्द्रसम्म स्तरीय सडक सञ्जाल विस्तार गर्ने, उर्जा उत्पादन तेब्बर बनाउने, उर्जा खपतलाई पाँच गुणाले बढाउने लगायतका योजनालाई विशेष प्राथमिकताका दिएको छ भने बृहत पोखरा चक्रपथ निर्माण, पोखरा विमानस्थललाई ३ बर्षभित्र निर्माण सम्पन्न लगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि सारेको छ । केहि नीति तथा कार्यक्रमहरु दोहोरिएका छन् भने केही चाहीँ संशोधन गरिएका छन् ।