
काठमाडौँ – बलिउड अभिनेता सोहेल खानले जेठ १४ गते हुन लागेको ‘दबङ्ग रिलोडेड टुर’को समयमा सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।
सगरमाथा हेर्ने बाल्यकालदेखिको सपनालाई यस वर्ष पूरा गर्ने उनले बताएका हुन्। सोल्टी होटलमा आयोजित कार्यक्रममा उनले आफू १२ वर्षको हुँदा विद्यालयबाट आयोजित भ्रमण कार्यक्रममा नेपाल आएको बताए। उनले भने, ‘बम्बईबाट कलकत्तासम्म लगभग ३० घण्टा रेलमा यात्रा गरेर वीरगञ्जको रक्सौल नाकाबाट नेपाल प्रवेश गरेका थियौँ।’ नेपालको यात्रा गर्दा उनले नेपाल आएर पक्कै पनि विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्ने अपेक्षा गरेका थिए। बाल मनस्थितिले नेपाल पुग्ने बित्तिकै सगरमाथा हेर्न पाइन्छ भन्ने बुझेको थियो। नेपाल भ्रमणका क्रममा उनले त्यो कुरा बुझे।
त्यो समयमा सम्भव नभएपनि अहिले आएर ४० वर्षपछि आफू बाल्यकालको सपना पूरा गर्न लागेको उनले बताए। उनले आफूलाई नेपाल धेरै प्यारो लाग्ने बताएका छन्।
बलिउडका चर्चित अभिनेता सलमान खानको आगामी जेठको १४ गते दशरथ रंगशालामा हुने ‘दबङ्ग रिलोडेड टुर’ को शिलशिलामा नेपाल आउँदैछन्। यो कार्यक्रमको उत्पादक सलमानका भाई सोहल कार्यक्रमको बारेमा जानकारी दिन बिहिबार काठमाडौँ आएका थिए।
‘दबङ्ग रिलोडेड टुर’ मा सलमानबाहेक प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् ।