
१. नयाँ वर्ष
पोहोर-
असाध्य फोहोर भयो
नयाँ वर्ष त्यस्तो नभइदिए हुन्थ्यो
घूसखोरी त
लालमोहर लागेजस्तै भयो
अब यस्तो अवस्था
नरहिदिए हुन्थ्यो
तर यस्तो पिन्चे अनुनय
कसले किन सुन्थ्यो!
मलाई थाहा छ-
नयाँ वर्षको खाममा
पुरानै शुभकामना आउनेछन्
नयाँ वर्षको नाममा
घूस्याहाहरू
नयाँ भाषण गाउनेछन्
फेरि पनि नेताहरू
सुनको धुनमा हुनेछन्
फेरि पनि जनताहरू
नुनको धुनमा रुनेछन् ।
२. यसपालिको नयाँ वर्ष
थुप्रै वैशाखहरू आए
तर बाटोमा वसन्तको
खोरीया फाँडेर आए
र, हामीलाई –
फूलको सपना बाँडेर गए
यसपालिको नयाँ वर्ष –
लालीगुराँस फुल्न थालेको छ
लेकतिर बोटबोटमा
पन्छीहरू नाचेको देखिरहेछु
बेसीतिर ओठओठमा
कान्छीहरू हाँसेको सुनिरहेछु ।
आउन त के आएन र
यो पुण्यभूमिमा !
सुन्दर प्रजातन्त्र पनि आयो
तर भाषणले थुम्थुम्याएर
त्यसको सौन्दर्यलाई
रासन बनाए भ्रष्टहरूले
बलात्कार गरे दुष्टहरूले
यसपालिको नयाँ वर्ष –
इमान फुल्न थालेको छ
फूलको परागमा
प्रजातन्त्र हेरिरहेछु।
एउटा नयाँ वर्ष –
धमिजा भएर आयो
र, शानेवानि खायो
एउटा नयाँ वर्ष –
लाउडा भएर आयो
र, बचेखुचेको उडायो
फेरि एउटा नयाँ वर्ष –
कालीमा कालकूट बाढी आयो
र, टनकपुर बगायो
यसपालिको नयाँ वर्ष –
आशाखेती फुल्न थालेको छ
सहकाल पर्खिरहेछु ।
स्वयम्भूका परेवालाई
वनतिर खेदेर, सहरमा –
सत्ताको पासा र
भत्ताको भकुण्डो खेलिरहे शकुनिहरू
खलङ्गाहरू भत्किएर द्वन्द्व
दुख्नसम्म दुखिरहेछ देश
रोल्पाहरू रोएर युद्ध
लाग्नसम्म लागिरहेछ ठेस
जति कोट्यायो त्यति दुख्छ
बरु नकोट्याउनु नै बेस
यसपालिको नयाँ वर्ष –
सञ्जीवनी फुल्न थालेको छ
वैद्यराज हेरिरहेछु ।