
गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंका स्वास्थ्य विपदको अवस्थातर्फ उन्मुख रहेको चिकित्सकले चेतावनी दिएका छन् ।
देशभरका अस्पतालहरूमा औषधि र अत्यावश्यक सामग्रीको अभाव रहेको श्रीलंकाका चिकित्सकलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आर्थिक संकटका कारण औषधि तथा अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित भएको छ । यही अवस्था कायम रहेमा र अवस्था सुधारका लागि तत्काल अन्तर्राष्ट्रिय समुदायले सहयोग नगरेमा श्रीलंकाको स्वास्थ्य सेवा ‘कोल्याप्स’ (तहसनहस) हुने चिकित्सकले चेतावनी दिएका हुन् ।
औषधि अभावका कारण विशेष गरी बालबालिकाको स्वास्थ्य उपचार गम्भीर रूपमा प्रभावित भइरहेको चिकित्सकले बताएका छन् ।
स्वास्थ्य विपदको अवस्था आउन समय नलाग्ने भन्दै उनीहरूले सहयोगका लागि अपिल समेत गरेका छन्।
एसोसिएसन अफ मेडिकल स्पेससलिस्ट श्रीलंकाका सचिव डा. ग्नानासेकरामले भनेका छन्, ‘दिनप्रतिदिन अवस्था नियन्त्रण बाहिर गइरहेको छ । यदी हामी शून्यमा पुग्यौँ भने त्यसपछि के हुन्छ भन्ने अनुमान लगाउन सकिँदैन । औषधि, एनेस्थेटिक औषधिसहित स्वास्थ्य उपचारका लागि चाहिने सामग्री सकिँदै गएका छन् ।’
उनले भनेका छन्, ‘तत्काल राहत भएन भने स्वास्थ्य सेवा तहसनहस हुनेछ । हामीले बिरामीको ज्यान जोगाउन सक्ने छैनौँ ।’
इतिहासकै गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा करिब ८५ प्रतिशत स्वास्थ्य सामग्री आयात हुने गरेको छ । तर विदेशी मुद्राको अभावका बीच श्रीलंकाले अत्यावश्यक सामग्री नै खरिद गर्न सकिरहेको छैन ।