
काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन केही दिन मात्रै बाँकी हुँदा सिट बाँडफाँट टुंग्याउन नसकेको सत्ता गठबन्धनले त्यसका लागि प्रयास जारी राखेको छ ।
उम्मेदवारी दर्ताको प्रक्रिया सुरु हुन चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिने तयारीमा छन् । त्यसका लागि बुधबार बिहान ११ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
गठबन्धनको ठूलो पार्टीको नाताले नेपाली कांग्रेस गठबन्धन जोगाउन भन्दै आफ्नै पार्टी भित्रको खासगरी सम्बन्धित स्थानीय नेतृत्व र कार्यकर्ताको भावनाविपरीत लचिलो देखिए पनि मुख्य पालिकाहरूमा अन्तिम टुंगो लाग्न सकेका छैन ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर र कास्कीको पोखरा महानगर क्रमशः माओवादी र नेकपा एकीकृत समावादीलाई दिने घोषणा गरेका छन् । तर ती स्थानीय तहमा त्यहाँका कांग्रेस नेताको विरोध यथावत छ ।
तालमेलको विरोध गरिरहेका पार्टीका नेताहरूलाई भने देउवाले गठबन्धनको नेतृत्वकर्ता भएकाले नेपाली कांग्रेसले फराकिलो छाती बनाउनु पर्ने उल्लेख गरेका छन् । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।