
बुटवल– नेपाली कांग्रेस गुल्मीको धुर्कोट गाउँपालिकाले अध्यक्षको उम्मेदवार सिफारिस गरेको छ।
बुधबार बसेको गाउँपालिकाको बैठकले नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि महेन्द्रप्रसाद भण्डारीलाई कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवारको रूपमा चयन गरेको पालिका सभापति हरिबहादुर थापाले बताए।
‘महेन्द्र भण्डारीले कांग्रेसका निम्ति आफ्ना व्यक्तिगत अवसर गुमाउनुका साथै धुर्कोटको समग्र विकासमा उहाँले दिएको चासो र चिन्ताका कारण हामी सबै पदाधिकारीले सर्वसम्मत निर्णय गर्यौँ,’ सभापति थापाले भने।
२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस–माओवादीको गठबन्धनबाट माओवादीका भुपाल पोख्रेल अध्यक्ष र कांग्रेसका शिव केसी उपाध्यक्षमा निर्वाचित भएका थिए।
१२ पालिका रहेको गुल्मीमा यसपटक आठ पालिकामा नेपाली कांग्रेस र चार पालिकाको नेतृत्व माओवादी केन्द्रले पाउने गरी भागवण्डामा सहमति भएपनि दलहरूले भागवण्डामा सहमति जुटाउन सकेका छैनन्। ती पालिकामा सत्ता साझेदार नेकपा एस र जनता समाजवादी पार्टीलाई उपप्रमुखमा सम्मानजनक भाग दिने सहमति भएको थियो।
तर विगतमा आफूले जितेको धुर्कोट यस पटक पनि नछाड्ने अडान माओवादीले लिएपछि सहमति कार्यान्वयनमा सकस परेको छ। सहमति नजुटेपछि कांग्रेस, माओवादी, जसपा र नेकपा एसले धुर्कोटको प्रमुखका लागि आ–आफ्नै पार्टीका उम्मेदवार उठाउने भन्दै नाम सिफारिस गरेका छन्।
यस्तै माओवादी केन्द्रले अहिलेकै अध्यक्ष पोखरेललाई फेरि पनि उम्मेदवारका रूपमा नाम सिफारिस गरेको छ। नेकपा एसले पनि नरेश भण्डारीको नाम सिफारिस गरेको छ। जसपाबाट गणेश कुँवरको नाम सिफारिस भएको छ।