
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार र्यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन शाहको लागि नेपालका कलाकारहरूले भोट मागेका छन्। उनका लागि अभिनेत्री स्वतिमा खड्का, प्रियंका कार्की, निश्चल बस्नेत लगायतले भोट मागेका हुन्।
कलाकार तथा निर्देशक निश्चल बस्नेतले बालेनको उम्मेदवारीको समयदेखि नै साथ दिँदै आएका छन्। केही समय अगाडि बालेनको तस्बिर सार्वजनिक गर्दै निश्चलले भनेका छन्, ‘कसैलाई गीत मात्र लाग्ला, धेरैलाई प्रचारमात्र। मलाई चाँहि परिवर्तनको बिगुल बजेजस्तो लाग्यो।’
यस्तै, नायिका स्वस्तिमा खड्काले बालेन शाहको घोषणा पत्रको संक्षेपलाई बुँदागत रूपमा उल्लेख गर्दै बालेन शाहको लागि भोट मागेकी छन्।
यसैगरी, नायिका प्रियंका कार्कीले पनि परिवर्तनको लागि भोट भन्दै बालेन शाहको घोषणा पत्रको संक्षेपलाई सामाजिक सञ्जाल फेसबुकमा साझा गरेकी छन्।
‘स्टोरी टेलर’ साइग्रेस पोख्रेलले पनि बालेन शाहलाई समर्थन गरेका छन्।
बालेनको उम्मेदवारीलाई सञ्चारकर्मी तथा ग्यालेक्सी फोर के टेलिभिजनका निर्देशक रवि लामिछानेले पनि समर्थन गरेका छन्। उनले व्यक्तिगत रूपमा बालेनलाई जित्ने वातावरण बनाउन अन्य स्वतन्त्र उम्मेदवारलाई आग्रह गरेका छन्।