
अफ्रिकाको घाँसे मैदान तथा ठूला रुखसहितको जंगल अफ्रिकन सभानामा रहेको सबैभन्दा पुरानो रुख मर्दै गएको छ । अफ्रिकन सभानाको आइकनको रुपमा रहेको पुरानो रुख रहस्यमय परिस्थितिमा मर्दै गएको हो ।
अफ्रिकन बाओबाबको सबैभन्दा पुरानो रुख प्यानके मरेको छ । मंकी ब्रेड भनिने अफ्रिकाका बाओबाबका अधिकांश ठूला तथा पुराना पछिल्लो १२ वर्षमा मर्दै गएको अन्तर्राष्ट्रिय वैज्ञानिकको समूहको अनुसन्धानमा देखिएको छ ।
पुराना रुख मर्नुको कारण जलवायु परिवर्तन हुन सक्ने उनीहरुले बताएका छन् । तर अहिलेसम्म प्रत्यक्ष प्रमाण भने भेटिएको छैन । यी रुखहरु ठूलो आकारमा फैलिन सक्ने र सयौँ नभएर हजार भन्दा बढी वर्ष जीवित रहने गरेका छन् ।
दक्षिण अफ्रिका, रोमानिया र अमेरिकाका अनुसन्धानकर्ताले आँकलन गर्नै नसकिने गतिमा पुराना रुख मर्दै गएको बताएका छन् । रुख मर्नुमा कुनै महामारी जिम्मेवार नरहेको नेचर प्लान्टसमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।