
बुटवल – गुल्मीमा निर्वाचन प्रचार–प्रसारका क्रममा नेपाली कांग्रेसका कार्यकर्ताले माओवादी केन्द्रका नेतालाई कुटपिट गरेका छन्।
कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटमा आइतबार राति कांग्रेस कार्यकर्ता गोपाल थापाको समूहले माओवादी केन्द्र कालीगण्डकीका अध्यक्ष लीलबहादुर केसीलाई कुटपिट गरेको माओवादीले बनाएको छ।
कुटपिट गर्ने थापा कालीगण्डकी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अहिले अध्यक्ष पदका उम्मेदवार बेद बहादुर थापाका भाइ हुन्। अनुहारमा चोट लागेर घाइते भएका केसीको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
नेपाली कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले भने दुई पक्षबीच सामान्य भनाभनका क्रममा धकेल्दा केसीलाई सामान्य चोट लागेको बताए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले कुटपिट भएको खबर प्राप्त भएकोले इलाका प्रहरी कार्यालय रिडीको प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको जानकारी दिए।
कालीगण्डकीमा नेकपा एमाले र माओवादीबीच गठबन्धन भएपछि नेपाली कांग्रेस असन्तुष्ट बनेको छ। त्यहाँ नेपाली कांग्रेस र जनमोर्चा पनि गठबन्धन गरेर चुनावी मैदानमा छन्।