
विराटनगर – मोरङको केराबारी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयले खोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ९ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
कार्यालयका प्रहरी नायब निरीक्षक दीपक यादवका अनुसार मंगबार केराबारीकै खदम खोलाको बिचमा गिट्टी बालुवा भर्दै गरेको अवस्थामा दुईवटा जेभीसी लोडर, दुईवटा हाइवा र ५ वटा ट्रिपरलाई नियन्त्रणमा लिइएको हो ।
मंगलबार स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरीको सुरक्षाटोली घटनास्थलमा पुुगेको थियो । खोलामा ठेक्का रोक्का भएको अवस्थामा बिच भागबाट अन्धाधुुन्ध बालुवा झिकिरहेको भेटिएपछि स्थानीयको सहयोगमा चारै तिरबाट घेरा हाली साधन नियन्त्रणमा यादवले बताए ।
नियन्त्रणमा लिइएका साधानहरुको संचालकको खोजी भइरहेको र घटनास्थलबाट चालकहरु समेत भाग्न सफल भएको प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त खोलामा बालुवा गिट्टी उत्खनन् कार्य बन्द रहेको छ ।
तर विभिन्न क्रसर व्यवसायीले बन्दको अवज्ञा गर्दै अवैध रुपमा निर्माण सामग्री उत्खनन् गर्दै आएका हुन् । अवैध रुपमा खोला उत्खनन् गरिरहेका साधनले १५ मिटरसम्म गहिरो बनाइ स्थानीय क्रसरमा लग्ने गरेको स्थनीयले जानकारी दिएका छन् ।
पछिल्लोसमय मोरङको खदम, चिसाङ, लोहन्द्रा, गछियालगायतका खोलामा अन्धाधुुन्ध रुपमा गिटीवालुवा झिक्ने काम हुँदै आएको छ । नदी खोलामा हुने अवैध उत्खनन्ले भूक्षयीकरण बढेको भन्दै प्रदेश एकको संसदमा समेत यस्ता प्रवृत्तिमा नियन्त्रण गरिनुपर्ने कुरा उठिरहेको छ ।
प्रदेश एकको सरकारले प्रदेश भित्र संचालनमा रहेको करिब ५ सय क्रसर उद्योगमध्ये ६० वटा मात्र कानुन बमोजिम मापदण्डमा रहेर संचालनमा आएको जानकारी दिएको छ । बाँकीलाई तुरन्त रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।