
काठमाडौँ – अहिले मनसुन निकै कमजोर अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झण्डै हप्तादिन अघि पूर्वबाट नेपाल भित्रिएको मनसुन सक्रिय हुन नसकेको मौसमविद समिर श्रेष्ठले बताएका छन् ।
मनसुनी प्रणाली कमजोर भएकाले सक्रिय हुन नसकेको उनले बताएका छन् । तर पूर्वी क्षेत्रमा भने मनसुनको प्रभाव देशका अरु क्षेत्रमा भन्दा बढी छ । बुधबार दिनभर नै पूर्वी क्षेत्रको मौसम बदली हुने र पानी पर्ने सम्भावना पनि रहेको मौसमविद श्रेष्ठले जानकारी दिए ।
मध्य तथा पश्चिम क्षेत्रमा घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने उनले बताएका छन् । काठमाडौँ उपत्यकामा बिहानै बादल लागे पनि अहिले घाम लागेको छ ।
तर दिउँसोतिर बादल लाग्ने उनले बताए । मध्य तथा पश्चिम क्षेत्रमा बेलुकातिर बदली भइ पानी पर्ने सम्भावना पनि रहेको छ । तर पूर्वमा जस्तो पानी भने नपर्ने मौसमविदले बताएका छन् ।