
काठमाडौँ- सफा हिमाल अभियान २०२२ मा खटिएका क्याम्पेन लिडरहरुलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले भिटिसी मार्फत हालसम्म भएका कार्य प्रगति विवरणहरुका बारेमा जानकारी लिएका छन्।
जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाइमा २०७८ चैत २२ गतेबाट सञ्चालन भईरहेको सो अभियान अन्तर्गत सगरमाथा,ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाई कार्यमा खटिएका क्याम्पेन लिडरहरुसँग शर्माले कार्य प्रगति विवरण बारे जानकारी लिएका हुन्।
शर्माले नेपाल सरकारबाट प्रदत्त संवैधानिक जिम्मेवारीको अतिरिक्त भौगोलिक विकटता र प्रतिकूल मौसमको समेत प्रवाह नगरी बिषम परिस्थितिमा नेपाली सेनाका सकलदर्जाले गरिरहेको कार्यहरुको उच्च मुल्याङ्कन गरेका छन्। योजना मुताविक आफुलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक समयमा नै सम्पन्न गर्न समेत उनले निर्देशन दिएका हुन्।
उनले मौषम पूर्वानुमानलाई मध्यनजर गरि नेपाली सेनाका सदस्यहरुले उक्त हिमालहरु आरोहण गर्ने योजना अनुरुप वैशाख २४ गते नेपाली सेनाका सह सेनानी राजु श्रेष्ठ र सिपाही अमित थापाले नेपाली सेनाको तर्फबाट पहिलो पटक कञ्चनजंघा हिमाल (८५८६ मि.) को सफल आरोहण गरेकोमा आरोहीहरुलाई विशेष धन्यवाद समेत दिएका छन्।
“सफा हिमाल अभियान २०२२” मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरुले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालहरुबाट फोहोर संकलन गरीसकेका छन्।
४ हिमालहरुबाट गरी हालसम्म १७००० केजी जम्मा फोहोर संकलन गरीसकेको उनले बताएका छन्। जसमध्ये २०६० केजी सड्ने/कुहिने र १४९४० केजी नकुहिने फोहोर रहेको छ।