काठमाडौँ- आगामी पाँचवर्षे कार्यकालका लागि स्थानीय तह निर्वाचन जारी छ। मतदाताहरु आफ्नो अधिकार अनुसार आफुले रोजेको जनप्रतिनिधिलाई मतदान गरी जिताउने तयारीमा छन्। कोही विगतका जनप्रतिनिधिको कार्यकाल र उनीहरुले गरेका कामबाट सन्तुष्ट छन् भने कोही अब नयाँ जनप्रतिनिधि राम्रो रोज्ने जोडमा छन्।
आफ्नो ठाउँ राम्रो बनाउनलाई जनप्रतिनिधि रोज्नका लागि मतदाताहरु लाइनमा छन्। यस्तोमा स्थानीयका समस्या आ-आफ्नै छन्। केही स्थानीय शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विकासका पूर्वाधारहरु राम्रो होस् भन्ने चाहान्छन् भने कोही आफ्नो ठाउँमा खास जुन समस्या छ त्यो समस्या नयाँ जनप्रतिनिधिले समधान गरीदियोस भन्ने चाहन्छन्।
काठमाडौं महानगरपालिका-१० श्री शारदा आधारभूत विद्यालयमा मतदान गर्न पुगेका स्थानीयको समस्या भने भिन्नै छ।
तिलगङ्गा टोलमा बस्ने स्थानीयहरु पशुपति विकास कोषले आफूहरुको घर अधिकरण गरेको गुनासो सुनाउँछन्। मतदान स्थल पुगेका स्थानीय जनार्दन दर्नाल विगतको जनप्रतिनिधिले आफूहरुको समस्या समधान गरीदिने प्रतिबद्धता गरेपनि पूरा नगरिदिएको बताउँछन्।
‘हामी तिलगङ्गा टोलमा बस्छौं, पशुपति विकास कोषले हाम्रो घर अधिकरण गरेको छ,’ उनी भन्छन्, ‘गोठाटारमा ४ आना जग्गा दिने भनेर भनेको छ त्यो चाँहि हामीलाई दिएको छैन। अब पशुपति क्षेत्र विकास कोषले विर्सिएको हो कि के हो त्यो चाँहि थाहा छैन। कहिले उठाउने कहिले के कहिले के भनीराख्या छन्।’
भोट माग्दा तपाईँहरु गरिबलाई हामी रुवाउँदैनौ, विगतका जनप्रतिनिधिहरुले मत मागे पनि केही नगरेको दुखेसो उनी सुनाउँछन्।
‘तपाईँ गरीबहरुलाई हामी रुवाउदैनौं। चार आना जग्गा गोठाटारमा दिन्छौं भन्नु भएको थियो। आश्वासन त्यतिबेला दिएर हामीले कागजपत्र पनि बुझ्याइयो तर केही पनि भएन,’ उनी भन्छन्, ‘हामी त्यहि जग्गाको आशामा छौं पशुपति विकास कोषबाट हामीलाई त्यो जग्गा नयाँ जनप्रतिनिधिहरुले दिलाउनुहुन्छ भन्नेका आशावादी पनि छौं।’
त्यस्तै सोही स्थानमा बसोबास गर्दै आएकी सावित्रस गोतमको पिडा पनि उस्तै छ। उनी आफूहरुलाई घरबारविहिन बनाएको दुखेसो सुनाउछिन्।
उनले देशसञ्चारसँग कुराकानी गर्दै भनिन्, ‘हामी धेरै पीडित छौं नानी, हामीलाई भएको ठाउँबाट पनि निकाल्ने भनेको छ। अन्त दिन्छु भनेको ठाउँमा पनि जग्गा पाएको छैन।’
उनी थप गुनासो सुनाउँदै भन्छिन्, ‘उतिबेला हामी दिन्छौं, तपाईँहरुलाई गोठाटारमा जग्गा प्लटिङ गरेर चार आना उपलब्ध गराउछौं भनेर भन्नुभयो अहिले आएर हामीलाई बसेको ठाउँबाट पनि निकाल्ने कुरा गर्नुहुन्छ। हाम्रो त बसोबासको पनि केही टुङ्गो छैन।’
उनी विगतको कार्यकालको जनप्रतिनिधिहरुले आफूहरुको समस्या नसुनेको बताउँछिन्। उनी भन्छिन्, ‘बसेको ठाउँबाट उठाउँछु भनेको छ नयाँ ठाउँमा जग्गा दिएको छैन कसरी सन्तुष्ट हुन सक्छौं र हामी?’