
काठमाडौँ- स्थानीय तह निर्वाचनको लागि मतदान कार्य शुक्रबार सम्पन्न भएको छ । केही छिटफुट घटना बाहेक मतदान राम्रैसँग सकिएको छ । विभिन्न पदमा उठेका उम्मेदवार स्थानीय तहको जनप्रतिनिधि चुनिन्छन् वा चुनिँदैनन्, मतदाताले गोप्य मतदान मार्फत आज टुंगो लगाइसकेका छन्,नतिजा विस्तारै आउनेछ । जनताको रोजाइ विकास निर्माणलाई केन्द्रमा राखेर काम गर्ने व्यक्ति वा नेतृत्व हुने गरे पनि नेताहरुले बाचा भुल्ने आरोप लाग्दै आएको छ । यसपाली स्थानीय तहको निर्वाचनमा पनि नेतालाई विश्वास नगर्ने मतदाता धेरै भेटिए । नेताले काम गरुन् भनेर भोट दिन आएको तर सोचेजस्तो काम हुन नसकेको अघिल्लो स्थानीय तहको निर्वाचनले देखाएको धेरैको गुनासो छ ।
निर्वाचनबाट चुनिने नयाँ नेतृत्वसँग काठमाडौँ उपत्यकाबासीका लगभग समान अपेक्षा छन् ।
उपत्यकाको फोहोर मैला व्यवस्थापन, पर्याप्त खानेपानी र ट्राफिक जाम हटाएर स्वच्छ, हराभरा र सफा उपत्यका यहाँका स्थानीय बासीको बर्षौँको सपना हो ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट चुनिएर आएका जनप्रतिनिधिले समस्या समाधान गर्छन् कि भन्ने उनीहरुलाई अपेक्षा छ ।
स्थानीय जनप्रतिनिधिले तल्लो तहको विकासको मात्रै योजना बनाएर राजनीतिक चंगुलमा नफसी काम गरे उपत्यकाको मुहार फेर्न सकिने स्थानीय सुझाउँछन्।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ का मतदाता प्रभुराज पाण्डेले युवा जोश जाँगर भएको, काम गर्न सक्ने र राजनीतिक पृष्ठभूमि पनि राम्रो भएको व्यक्तिले महानगर सफा, स्वच्छ र हराभरा बनाउन सक्ने विश्वास व्यक्त गरे । स्थानीय तह निर्वाचन ०७४ मा चुनिएका जनप्रतिनिधिले पाँच वर्षमा जति विकास गर्नुपर्ने त्यो हुन नसकेको बताउँदै अब चुनिएर आउनेले गर्लान कि भन्ने आस लागेर मत दिएको उनी बताउँछन् ।
नेपाल युवक मावि पक्नाजोल मतदान केन्द्रमा मतदान गरेपछि देशसञ्चारसँग उनले भने, ‘स्थानीय सरकारले स्थानीय तहको मात्रै कुरा गर्नुप¥यो । फोहोरमैला हटाएर बाटो सफा गर्न र महानगरपालिकामा दिगो विकास गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्छ । विभिन्न किसिमका प्रविधि प्रयोग गरेर फोहरमैला सफा गर्न सकिन्छ । काठमाडौँ उपत्यकालाई बर्षौदेखि फोहर राखेर त्यहि फोहोरमाथि राजनीति भएको छ । यसको अन्त्य हुनुपर्छ ।’
उनले थपे, ‘विदेश जाँदा सफा शहरहरु देख्न पाइन्छ, आफ्नै देश र शहर फोहर छन् । स्वच्छ हराभरा र सफा काठमाडौं बनाउने नेतृत्व चाहियो । मतदाताले क्षमता हेरेर महानगरपालिकाको नेतृत्व सुम्पिनु पर्छ र नेतृत्वमा पुग्नेले पनि राजनीति नगरी उपत्यकाबासीका समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ ।’
ललितपुर महानगरपालिका वडा नम्बर २ की आशा महर्जनको गुनासो पनि उस्तै छ ।
फोहर मैला व्यवस्थापन, खानेपानी र ट्राफिक जामको समस्या झेलेर वाक्क भएको भन्दै यसको समाधान गर्ने नेतृत्व आइदिए हुन्थ्यो भन्ने उनलाई पनि लागेको छ । उनले भनिन्- ‘घर छेउसम्म मेलम्चीको पानीको पाइप खनेको छ, तर हामीकहाँ खनेको छैन, किन यस्तो गरेको हो ? पानी आउने हो कि हैन, आए कहिले आउने हो? नेताहरुले आजको भोलि नै समस्याको समाधान गर्छन् जस्तो त लाग्दैन तर आज भोट हालेर आएँ ।’
काठमाडौं बबरमहलका ८८ बर्षीय पदमपाणि अर्यालले इन्जिनियरिङ पढ्दै गरेका आफ्ना नाति विराजको साहारा लिएर भोट हाले ।
देशका फरक–फरक राजनीतिक घटनाक्रम र शासन पद्धतिलाई भोगेका उनले काठमाडौँ उपत्यकामा बर्षौँदेखि उही पुरानै मुद्दा खानेपानी व्यवस्थापन र फोहोर हटाइदेऊ भनेर नेतासँग भन्नै मन नलागेको बताए ।
नेताले सामान्य आवश्यकताहरु पनि पुरा नगरेको भन्दै बिना आस र स्वार्थ मत दिएको उनको भनाइ छ ।
पुल्चोक क्याम्पसमा इन्जिनियरिङ पढ्दै गरेका उनका नाति विराज नेताले ठूलो गफ गरेका कारण काम हुन नसकेको बताउँछन् ।
नेताले काम गर्न नसक्नुको खास कारण पत्ता लगाएर गफ हाँक्ने प्रवृत्तिको अन्त्य गर्न सकिने उनले सुझाव दिएका छन् ।
देश सञ्चारसँग उनले भने, ‘दृढ इच्छा शक्ति हुने हो भने विकाश गर्न गाह्रो छजस्तो मलाई लाग्दैन । स्थानीय तहलाई केन्द्र सरकारले धेरै अधिकार दिएको छ तर स्थानीय सरकारले त्यसको सदुपयोग गर्न सकेन ।
अधिकांश युवाको ध्यान विकसित देशतर्फ हानिने भएको हुँदा सक्षम युवालाई देशमै रोक्न पनि स्थानीय सरकारलाई विकास निर्माण गरेर देखाउन उनी जोड दिन्छन् ।
नयाँ दल वा व्यक्तिलाई नेतृत्व हाँक्ने जिम्मा दिएको खण्डमा उपत्यकाको मुहार फेरिन्थ्यो कि भन्नेहरु पछि छन् ।
काठमाडौंँ बस्दै आएकी सुनसरी सुन्दर हरैँचा नगरपालिका वडा नम्बर ४ की सुनिता धमलाले मतदाता नामावालीमा नाम टिपाउन छुटाउँदा भोट दिन पाइनन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा बस्ने उनले दिनभर त्यहीँ वरपरका मतदान केन्द्रमा पुगेर अरुले भोट खसालेको हेरिन् ।
आफुले भोट दिन नपाएपनि मतदानको माहोल हेर्दा मज्जा लागेको उनले देश सञ्चारसँग प्रतिक्रिया दिइन् । घर परिवारसहित ८ बर्ष देखि काठमाडौं बस्दै आएकी उनी खानेपानी र फोहरमैलाको समस्यासँग जुध्नुपरेको गुनासो गर्छिन् ।
उनले भनिन्, ‘काठमाडौंमा फोहर कहिल्यै उठ्न सकेन, मेलम्चीको पानी भने केही हप्ता देखि आउन थालेको छ, त्यो पनि कहिले बन्द हुने हो ठेगान छैन ।’