काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेले ब्राजिलको माराकाना रंगशालाको फोटो फेसबुक प्रोफाइलमा राखेका छन् । यो मैदानमा २०१४ मा विश्वकप फुटबलका खेल भएका थिए ।
विश्वकप फुटबलको ‘क्रेज’ न्यौपानेका लागि यतिमै सिमीत रहेन । ब्राजिलकै जर्सी श्रीमतीले गिफ्ट दिएकी छन् । छोराछोरीले पनि ब्राजिलकै जर्सी किनेका छन् । न्यौपानेले भने, ‘मैले ब्राजिलको खेल मनपराउने भएकाले श्रीमतिले ब्राजिलकै जर्सी ल्याइदिछिन् ।’
न्यौपानेलाई फुटबल प्रतिको मोह अहिलेको हैन । सोह्र बर्से उमरेमा त फुटबलप्रति झनै भिजेका थिए । १९९० को फुटबल साधा टेलिभिजनमा हेरेको सम्झना आज पनि ताजै छ। त्यतिबेला उनी एसएलसी दिएर नतिजाको प्रतिक्षामा थिए । त्यतिबेला अर्जेन्टिना र पश्चिम जर्मनीले फाइनल खेलेका थिए।
फुटबल भनेपछि न्यौपानेले रात साँझ भनेनन् । २८ वर्ष पहिलेको त्यो विश्वकप फाइनल सम्झिए, ‘घरमा टिभी थिएन । छिमेकीको घरमा सानो साधा टिभी थियो । गेम मध्यरातमा सुरु हुन्थ्यो। हामी दिउँसैदेखि एन्टेना र बुस्टर मिलाउँथ्यौं । मलाई भने अर्जेन्टिनाका स्टार स्ट्राइकर म्यारोडोनाको खेल कतिबेला आउँछ जस्तै लाग्थ्यो । तर फाइनलमा अर्जेन्टिना हार्यो, छिमेकबाट खिन्न हुँदै घर फर्कें ।’
उपत्यकामै घर भएपनि अहिलेको जस्तो प्रविधिको विकास भएको थिएन । क्लियर टिभि हेर्ने सुविधा कहाँ पाउनु । टेलिभिजन झर्झर आउथ्यो । पानी परेका बेला त झनै अड्किने, समस्या हुन्थ्यो । अनि पानीमा भिज्दै एन्टेना मिलाउन पुग्थे । तर त्यसमा छुट्टै रमाइलो लाग्थ्यो, न्यौपानेलाई ।
तर त्यो उमेर, त्यो उर्जा र ती साथी भाइ छैनन् । घरैमा परिवारसँग एचडी क्वालेटि र ५५ इन्चको एलइडी टेलिभिजन हेर्न सुविधा छ । तर पहिलेको झझल्को भने मेटिएको छैन । ‘पहिलो पटक सन् १९८८ को ओलम्पिक खेल हेरेको स्मरणमा छ । त्यस बखत एक किलोमिटर हिडेर रेकर्डेड फुटेज हेर्न गएका थियौं, त्यो क्षण बेग्लै रमाइलो थियो’, उनले सम्झिए ।

आजभोली समाचार हेर्न बाहेक टेलिभिजन सेट अगाडि नपुग्ने न्यौपानेलाई हरेक विश्वकपले टेलिभिजन सेट अगाडि अड्याउँछ । न्यौपाने भन्छन्, ‘वल्र्डकप क्रिकेट पनि हेर्छु, तर पुरै गेम हेर्न सक्दिन । स्कोर मात्र पछ्याउछु तर फुटबलमा भने पूरै खेल नहेरी चित्तै बुझ्दैन ।’
कलेज पढ्दा गेम हेरेर साथीहरुसँग त्यसको विश्लेषण गर्दा छुट्टै रमाइलो हुन्थ्यो। ‘आफूलाई मन मर्ने टीमले जित्छ भन्ने सबैलाई लाग्थ्यो । त्यहि अनुसारका पनि तर्क हुन्थे । आफ्नो टिमले गोल हान्दा उत्साहित हुन्थ्यौं’, न्यौपाने भन्छन्, ‘तर अहिले जस्तो बाजी राख्ने चलन थिएन । त्यो राम्रो पनि हैन ।’
कलेज पढ्दा बसेको फुटबल हेर्ने बानि सरकारी सेवामा प्रवेश गरेपछि पनि छुटेन। सन् २००६ को विश्वकपमा फ्रान्स पहिल्यै गोल गरेर पनि हार्यो । जिनेदिन जिदानको गोलमा फ्रान्सले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो। त्यतिबेला अमेरिका पुगेका न्यौपाने निक्कै खुशी भए । तर १९ औं मिनेटमा मार्कोले गोल गर्दै इटालीलाई बराबरीमा मात्रै पुर्याएनन् खेलनै अतिरिक्त समय हुँदै पेनाल्टिमा धकेलियो ।
अतिरिक्त समयको अन्तिममा तिनै मार्कोलाई टाउकोले हानेर ढालेका जिदान रेडकार्ड पाउँदै बाहिरिए । पेनाल्टी सुटमा फ्रान्स ५–३ ले हार्यो । आफूले सपोर्ट गरेको टिम विश्वकपको मुखमा पुगेर निराश हुँदा न्यौपानेलाई पनि खुशी लाग्ने कुरै भएन । बरु जिदान भैदिएको भए टिमको मनोबल अर्कै हुन्थ्यो, जित्थ्यो होला भन्ने चाहिँ लागिरह्यो ।
९० को दशकमा अर्जेन्टिनाका म्यारोडोना, ब्राजिलका रोनाल्डो र फान्सका जिनेदिन जिदानको खेल मन पराउने न्यौपानेलाई यतिबेला मेसी र नेइमारको खेल मन पर्छ ।
गत वर्ष पर्यटन मन्त्रालयको सचिव हुदाँ उनी ब्राजिल पुगेका थिए । त्यहि कारण मात्रै उनलाई ब्राजिलको समर्थन गर्न मन लागेको हैन । न्यौपाने भन्छन्, ‘ब्राजिल र अर्जेन्टिनाको फुटबल कल्चर नै मन पर्छ । त्यही भएर विश्वकप पनि उनीहरु मध्यले नै जितुन् जस्तो लाग्छ ।’
ब्राजिलको कोपाकाभाना बिचमा दुई चार जनाको समूह बनाएर खेलिरहेको देख्दा उनीहरु फुटबलप्रति कति कमिट्मेन्ट छन् भन्ने सहजै अनुमान लाउन सकिन्छ । ब्राजिलमा रंगशालालाई म्युजियम जस्तै बनाएका छन्। पेलेले लगाएका जर्सी, उनले खेलेका फुटबल संरक्षण गरेर राखिएको छ । अनि रगंशालामा पर्यटकलाई घुमाउन लैजान्छन् ।
पर्यटन सम्बन्धि बैठकमा भाग लिन पुगेको न्यौपानेलाई पनि विश्वकप भएका रगंशाला घुमेका थिए । यी कुरा जोडिनाले पनि उनलाई यस पटक ब्राजिलको मोहले तानेको छ। त्यसैले त उनले जर्सी मात्रै लगाएका हैनन्। ब्राजिलमा फुटबल कल्चर देखेरै प्रभावित भएका हुन्।

भर्खरै
लोकप्रिय






































































































































































































