
काठमाडाैँ- काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये हालसम्म तीनवटा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
तीनै नगरपालिकामा कांग्रेसले जित हात पारेको छ।
दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेत विजयी भएकाे नगरपालिकाकी निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
उनी यसअघि ०७४ सालको चुनावमा पनि दक्षिणकाली नगरपालिका मेयरमा निर्वाचित भएका थिए।
यसैगरी, कीर्तिपुर र तारकेश्वरमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यी दुवै नगरपालिकामा भने यसअघि एमालेले जितेको थियो। कांग्रेसले यसपटक नतिजा उल्ट्याएको हो।
कीर्तिपुरमा राजकुमार नकर्मी र तारकेश्वरमा कृष्णहरि महर्जन निर्वाचित भएका छन्। काठमाडौंका बाँकी सात नगरपालिकामध्ये पाँच नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।
कांग्रेसले अग्रता लिइरहेको कागेश्वरी र टोखामा यसअघि एमाले विजयी भएको छ। गोकर्णेश्वर, चन्द्रागिरि र नागार्जुनमा अग्रता लिइरहेको कांग्रेसले यसअघि पनि मेयर जितेको थियो। यसअघि पनि जितेको बुढानीलकण्ठमा अहिले पनि एमालेको अग्रता छ।
शंखरापुर नगरपालिकामा भने राप्रपाले अग्रता लिइरहेको छ। कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको शंखरापुरमा राप्रपाले अग्रता लिइरहेको हो।
यस्तै, शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापितले ३ हजार ७ सय ३ मत ल्याउँदा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३ हजार ४ सय ८५ मत ल्याएका छन्। एमालेका कृष्णलाल बजगाईंले ३ हजार १ सय ३ र माओवादी केन्द्रका मधु केसीले २ हजार ८५ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कागेश्वरी मनहरा नगरपालिकामा कांग्रेसमा उपेन्द्र कार्कीले ५ हजार ५ सय ६५ मत ल्याउँदा एमालेका रामशरण ढुंगानाले ४ हजार ६ सय ६९ मत ल्याएर पछ्याइरहेका छन्।
गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका दिपककुमार रिसालले ६ हजार ४ सय ८६ मत ल्याएका छन् भने एमालेका उद्धव विष्टले ६ हजार ९१ मत ल्याएका छन्।
बुढानीलकण्ठ नगरपालिकामा एमालेका मीठाराम अधिकारीले ९ हजार ४ सय २६ मत प्राप्त गर्दा कांग्रेसका विनोद चालिसेले ७ हजार ४ सय ३५ भोट प्राप्त गरे।
टोखा नगरपालिकामा कांग्रेसकी उम्मेदवार ३ सय २८ मतले अघि छन्। कांग्रेसकी रजनी थापाको ७ हजार ८ सय ९२ मत आएको छ भने एमालेका प्रकाश अधिकारीले ७ हजार ५ सय ६४ मत ल्याएका छन्। टोखामा यसअघि एमालेका विजय अधिकारी निर्वाचित भएका थिए।
नागार्जुन नगरपालिकामा कांग्रेसमा मोहनबहादुर बस्नेत ४ हजार ९८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका नन्दनहरि गौतमले ३ हजार ४०४ मत ल्याए।
चन्द्रागिरि नगरपालिकामा कांग्रेसका घनश्याम गिरीले ८ हजार ६ सय ७५ मत ल्याउँदा एमालेका उत्तम बहादुर राउतले ७ हजार ६३ मत पाएका छन्।
यस्तै, तारकेश्वर नगरपालिकामा कांग्रेसका कृष्णहरि महर्जन ११ हजार ९ सय ८८ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका रामेश्वर बोहराले ७ हजार ८ सय ७ मत ल्याएका थिए। अघिल्लो निर्वाचनमा भने एमालेका बोहरा निर्वाचित भएका थिए।
दक्षिणकाली नगरपालिकामा कांग्रेसका मोहन बस्नेतले ७ हजार २०१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका श्रीराम आचार्यले ५ हजार १ सय १२ मत ल्याएका थिए।
त्यस्तै, कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी झण्डै दोव्वर मत ल्याएर विजयी भएका छन्। नकर्मीले ९ हजार ४३ मत ल्याउँदा एमालेका केशवरत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत ल्याएका थिए।