
काठमाडौँ– नेकपा माओवादी (केन्द्र) चितवन जिल्ला संयोजक आरसी अधिकारीले भरतपुर महानगरमा बागी उम्मेदवार नउठेको भए अहिले रेनु दाहालको विजय जुलुस सुरु हुने बताएका छन्।
भरतपुर महानगरमा सत्ता गठबन्धनको समर्थनमा मेयरमा उठेकी रेनु दाहालसँग रुष्ट भएर नेपाली कांग्रेसका जगन्नाथ पौडेल बागी उठेका छन्।
जारी मतगणनामा पौडेलले रेनु दाहालको भोट काट्दै गर्दा माओवादीका जिल्ला संयोजक अधिकारीले जगन्नाथ नउठेको भए यतिवेला भरतपुरमा रेनुको विजय जुलुस निकालिसक्ने प्रतिक्रिया दिए।
भरतपुरमा ४१ हजार हाराहारी मत गन्दा रेनुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीभन्दा तीन हजार बढी मतले अग्रता लिइरहेकी छन्।
बागी उम्मेदवार पौडेलले साढे ६ हजार हाराहारीमा मत ल्याएका छन्। पौडेलले सत्ता गठबन्धनकी उम्मेदवार रेनुको भोट काटेको प्रति दुखेसो गर्दै माओवादी केन्द्रका चितवन जिल्ला संयोजक अधिकारीले देश सञ्चारसँग भने, ‘कांग्रेसका पौडेल बागी उठेर रेनु दाहालको मत घटिरहेको छ। तैपनि, रेनुले जित्नुहुन्छ। पौडेल नउठेको भए रेनुले एमाले उम्मदेवार सुवेदीसँग धेरै मतान्तरले जित्नुहुन्थ्यो, अब कम मतान्तरले जित्नुहुन्छ।’
नेपाली कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले बागी उम्मेदवार पौडेलले सत्ता गठबन्धनकै भोट काटिरहेको बताए।
उनले भने, ‘सत्ता गठबन्धनको समर्थनकी उम्मेदवार रेनु दाहालसँग रुष्ट बनेका कांग्रेसका असन्तुष्ट पक्षले पौडेललाई भोट दिएका छन्। विशेष गरी भरतपुरका स्थानीयको भोट पौडेललाई गएको छ। हालसम्म गनिएकामध्ये भरतपुर क्षेत्रबाट पौडेललाई समर्थन देखिएको छ।’
भरतपुरका २९ वटा वडामध्ये १ देखि ८ सम्मको मतगणना सकियो। ९ र १० को जारी छ।
१ लाख ८५ हजार मतदाता रहेको भरतपुरमा १ लाख २७ हजार भोट खसेको छ।
भरतपुरको चुनावी चर्चा र चासो पनि काठमाडौं महानगरलाई टक्कर दिएको छ। सत्ता गठबन्धनको समर्थनमा उठेकी उम्मेदवार रेनु दाहालसँग रुष्ट बनेर पौडेलले बागी उम्मेदवारी दिएदेखि नै भरतपुरमा चुनावी सरगर्मी ह्वात्तै बढेको थियो।
कांग्रेस र माओवादीले सक्दो प्रयास गर्दा पनि उनको उम्मेदवारी फिर्ता लिन सफल भएनन्।
पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतको दबाबका बाबजुद पौडेलले आफ्नो अडान यथावत् राखेका हुन्।
उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँडले भरतपुर नै पुगेर कसरत गरेका थिए।
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि प्रतिनिधिका रूपमा चितवन पुगेका थिए।
यस्तै, उम्मेदवारी फिर्ता लिन पौडेललाई धम्की लगाएजस्तै माओवादी अध्यक्ष दाहालले कार्यकर्तालाई पनि रेनुलाई भोट नदिए देश दुर्घटनामा पर्ने त्रास देखाएका थिए।
पूर्व सांसदसमेत रहेका पौडेलले आफूसँग सयौँ कार्यकर्ता रहेको भन्दै उम्मेवारी फिर्ता लिन टसको मस भएका थिएनन्।
मेयरको उम्मेदवारी कायम राखेपछि सत्ता गठबन्धनलाई जगन्नाथ टाउको दुखाइको विषय बनेका थिए।
रेनुको धेरै भोट काटिएर एमालेका विजय सुवेदी भरतपुर महानगरपालिकाको प्रमुख बन्छन् भन्ने आकलन पनि धेरैको थियो र छ पनि।
अहिले रेनुको मतान्तर बढेको छ। यही मतान्तर नै निर्णयक भने हैन। तपाईँ र तपाईंका समर्थकले अपेक्षा गरेजसरी तपाईंलाई भोट किन आउन सकेन भन्ने देश सञ्चारको प्रश्नमा बागी उम्मेदवार पौडेलले भने, ‘मतदान गर्नुभन्दा ४८ घण्टा अघिसम्म चुनावी माहोल मेरो पक्षमा थियो तर मौन अवधि सुरु भएपछि सत्ता गठबन्धनले मविरुद्ध सबै प्रकारका उपाय अपनायो। पैसामा भोट किन्यो, अँध्यारोमा खेलिने खेल खेलेर अहिले सत्ता गठबन्धनले भोट बढाइरहेको छ। मसँग निष्ठा र सिद्धान्तको राजनीतिभन्दा केही पनि छैन तर सत्ता गठबन्धनले आफ्नो उम्मेदवार जिताउन पैसा र शक्तिको दुरुपयोग गर्यो।’
उनले जित हार भन्दा पनि निष्ठाको राजनीतिलाई महत्व दिने बताए।
उनले भने, ‘मतगणना सकिएपछि कांग्रेसका मूल सिद्धान्तमा हिँड्न खोज्ने देशभरका समर्थकको सम्मेलन गर्ने तयारी छ। मेयर नबने पनि मैले भरतपुर महानगरमा कम्तीमा २५ हजार भोट ल्याउँछु भन्ने अपेक्षा छ। समाजसेवामा सधैँ तल्लीन भइरहन्छु। कांग्रेस पदाधिकारी र शीर्ष नेताले पार्टीको मुख्य सिद्धान्त भूलेका छन्। त्यसलाई हामी समातेर हिँड्छौँ।’
बागी उम्मेदवार उठेपछि पार्टीले गरेको कारबाहीप्रति लक्ष्य गर्दै कारबाहीले समाजसेवा गर्न र पार्टीको मूल सिद्धान्त अपनाएर हिँड्न फरक नपर्ने उनको तर्क छ।
स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधिमा सत्ता गठबन्धनले भरतपुरका विभिन्न वडामा महिलाको नाममा, टोल सुधारको नाममा पैसा बाँडेको देखेको कारण आफ्नो भोट कम आउनुलाई उनले सामान्य रुपमा लिएका छन्।
पौडेलको चुनाव चिह्न भुइँकटहर भए पनि केही मतदाताले झुक्किएर कांग्रेसको चुनाव चिह्न रूखलाई भोट दिएका छन्।
एमालेका शीर्ष नेताले पौडेलसँग सहकार्य गर्न चाहे पनि समय छँदै नखुलेको पौडेलको भनाइ छ।
पौडेललाई कांग्रेससहित, माओवादी, एमाले र उनका स्वतन्त्र समर्थकको भोट गएको छ। भरतपुर महानगरमा मेयर नै जित्न नसके पनि स्वार्थको नाममा गरिने चुनावी तालमेल वा गठबन्धनलाई भने पौडेलको अडानले धक्का लगाइदिएको छ।